April 29, 2025

नेपाललाई साफको फाइनलमा पुर्याउने अन्जन विष्ट सम्मानित

October 24, 2021
Photo : neplays
- ADVERTISEMENT -

मकवानपुर / नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित अंग्रपंक्तिका खेलाडी अन्जन बिष्टलाई नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले नगदसहित सम्मान गरेका छन् । संघले नेपाललाई साफ च्याम्पियनसीपको फाइनलमा पु¥याउन महत्वपूर्ण योगदान दिएको भन्दै बिष्टलाई शनिबार नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
खेलाडी विष्टलाई कांग्रेस मकवानपुर सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नगद उपलब्ध गराएका हुन् । फुटबलर बिष्टलाई सम्मान गर्दै कांग्रेस नेता बानियाँले विश्वमा नेपालको नाम चिनाउन योगदान पुर्याएका खेलाडीलाई हौसला र सम्मान आवश्यक रहेको बताए ।
‘राष्ट्रको गौरव बढाउने खेलाडीको सम्मान गर्नु आवश्यक छ’, उनले भने, ‘अन्जन बिष्टसहित मकवानपुरबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीहरुलाई पनि आगामी दिनमा आवश्यक सहयोगका लागि तयार छौं ।’
सम्मान ग्रहण गर्दै फुटबलर बिष्टले सम्मानले थप हौसला मिलेको धारणा राखे । ‘सम्मानले खेलाडीलाई प्रोत्साहन हुने गर्दछ । मकवानपुरबाट अरु खेलाडी पनि उत्पादन हुनुपर्छ’, उनले भने, ‘आफ्नै ठाउँमा सम्मानित हुन पाउँदा खुसी लागेको छ ।’ कार्यक्रममा अन्जनका बुवा राजु बिष्टलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, कांग्रेस मकवानपुर जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु सुनिल दाहाल, सुशान्त श्रेष्ठ, सुनिल अधिकारी, क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरका निवर्तमान सभापति आनन्दराम पराजुली, नेवि संघ अध्यक्ष राजु खतिवडा, खेलकुद संघका उपाध्यक्ष सर्मिला श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सविन भट्टाचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । लोकतान्त्रिक खेलकुद संघले वीपी कप फुटबलसहित विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

- ADVERTISEMENT -