April 25, 2025

चितवनमा ३ वर्षपछि चितवन महोत्सवको रौनक

November 19, 2021
- ADVERTISEMENT -

–प्रमिला तामाङ
चितवन / चितवनको नारायणी नदी किनारमा तीन वर्षपछि चितवन महोत्सव हुने भएको छ । यसअघि प्रत्येक २ वर्षमा हुने गरेको चितवन महोत्सव कोरोना महामारीका कारण तीन वर्षपछि हुने भएको हो । उद्योग वाणिज्य संघ चितवनका राजु श्रेष्ठले शुक्रबार प्रेस सम्मेलन मार्फत चितवन महोत्सव हुने जानकारी गराएको हो ।
गत वर्ष २०७७ सालमा सम्पन्न हुनुपर्ने चितवन महोत्सवको १३औं संस्करण कोरोना महामारीका कारण स्थगित भएको थियो । अध्यक्ष श्रेष्ठले अहिले परिस्थिति अनुकुल बन्दै गएको र धेरै उमेर समूहका नागरिकले कोभिड विरुद्धको खोप लगाई सकेकोले जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमति लिई महोत्सव सुचारु गर्न लागेको बताए ।
उनका अनुसार यस वर्ष चितवन महोत्सवमा ४ वटा विशेष स्टल र डोमसहित ३५० ओटा स्टल रहने छन् । उक्त महोत्सव पुस २५ गतेदेखि माघ ४ गतेसम्म संचालन गरिने आयोजकले बताएको छ । कोभिडको जोखिम कायमै रहेकाले स्वास्थ्य सम्बन्धी सुरक्षा अपनाइएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
उक्त महोत्सवमा उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहने छन् ।
महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनकोसमेत कक्ष रहने छन् । महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुने बताइएको छ ।
महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमूना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहने छन् । एकल महिला, अपाङ्ग, विद्यार्थीलाई निःशुल्क गरिने उनको भनाइ छ । महोत्सव विसं २०५३ देखि सुरु भएको हो ।

- ADVERTISEMENT -