April 30, 2025

चितवन सेवा समाजको मंसिरमा चौथो विश्व सम्मेलन

November 25, 2021
- ADVERTISEMENT -

चितवन / चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन चितवनमा हुने भएको छ । वैदेशिक रोजगारमा गएका चितवनवासीहरुको चौथो विश्व सम्मेलन तथा आठौँ साधारण सभा चितवनको भरतपुरमा आगामी मंसिर १८ गते हुन लागेको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
उक्त विश्व सम्मेलनले अध्यक्ष, उपाध्यक्ष, महासचिव कोषाध्यक्षसहित १७ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । जसमा अन्तर्राष्ट्रिय संयोजक, महिला संयोजक र क्षेत्रीय संयोजकलगायत रहने छन् ।
वैदेशिक रोजगारमा गएका चितवनेलाई एकत्रित गरी उनीहरुका समस्या समाधान गदैं सामाजिक विकासमा योगदान दिने लक्ष्यसहित २०६९ सालमा समिति स्थापना भएको हो ।
सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षक गरी विभिन्न देशमा बस्ने झण्डै ३०० जनाको सहभागितामा रहने समिति अन्तर्गत प्रचारप्रसार समितिका संयोजक दिपक गौतमले बताए ।
हाल कतार, इजरायल, यूएई, दक्षिण कोरिया, जापान, कुवेत, साइप्रस, बहराइन, डेनमार्क र आयरल्याण्डमा रहेका चितवने संस्थामा आवद्ध छन् ।
छिट्टै नै विभिन्न देशमा बस्ने चितवनेहरुसँग छलफल गरी विश्व सञ्जाल विस्तार गर्न समितिसमेत निर्माण गर्ने जनाइएको छ । समितिमा हाल दुई हजारभन्दा बढी साधारण सदस्य आवद्ध छन् ।
आफ्नो ठाउँको विकासका लागि विदेशमा आर्जन गरेको सीप र पुँजीको सही सदुपयोग गर्न संस्था प्रयासरत रहेको शिक्षा तथा स्वास्थ समिति संयोजक विश्वनाथ सापकोटाले बताए ।
उनले ‘संस्थामा भएको श्रम, सीप र पुँजीलाई जिल्लाको विकासमा लगाई स्वाबलम्बी र स्वरोजगार बन्ने उद्देश्यअनुरुप विश्वमा रहेका चितवनेलाई एकीकृत गर्ने लक्ष्य हाम्रो छ ।’ । संस्थाले विदेशमा कमाएको सीपलाई स्वदेशमै लगानी गर्न र सामाजिक सेवा भावमा सदस्यलाई लगाउन प्रेरित गर्ने समिति सहयोगसिद्ध हुने बिश्वास गरिएको छ ।
समितिमार्फत विदेशमा बस्ने चितवनका युवाले भूकम्पपीडित, बाढीपीडित, घाइते, अपांग, असहाय, गरिब तथा विपन्न विद्यार्थीलाई सहयोग, रंगशाला निर्माणमा सहयोग, विद्यालय, विभिन्न आश्रममा गरी झण्डै रु दुई करोडको सहयोग गरिसकेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
परोपकारी काममा गएको एक वर्षमा मात्रै रु ४० लाखभन्दा बढीको सहयोग गरिसकेको साथै चितवनको भरतपुर अस्पतालमा स्थापना भएको विपन्नका लागि परोपकारी कोषमा समेत हातेमालो गर्दै समितिले जनाएको छ ।
विदेशमा बिरामी भएर समस्यामा परेका चितवनलेलाई उद्धार गरी घर ल्याउने र उपचार गर्ने अभियानसमेत गर्दै आएको अधिकारीको भनाइ छ ।

- ADVERTISEMENT -