–प्रमिला तामाङ
चितवन । चितवनबाट सञ्चालित न्यूजप्रवाह डटकम (डिजिटल पेपर) का प्रधान सम्पादक बबिलाल तामाङ सहित तीन जना पत्रकार सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको आठौं साधारण सभा तथा चौथौं अधिवेशनको अवसरमा पत्रकार तामाङ सहित तीन जनालाई सम्मान गरिएको हो । सम्मानित हुने अन्य पत्रकारहरुमा पिविएम न्यूजडटकमका प्रधान सम्पादक सन्तकुमार चौधरी र कालिका एफएमका समाचारवाचिका प्रतिमा कुमाल रहेका छन् ।
विगत दुई दशकदेखि पत्रकारिता मार्फत आदिवासी जनजातिका आवाजलाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा योगदानको उच्च मूल्याकंन गर्दै पत्रकार तथा न्यूजप्रवाह डटकमका प्रधान सम्पादक तामाङलाई सम्मान गरिएको हो ।
यस्तै पिविएमका प्रधान सम्पादक चौधरीलाई एकदशक अघि जनजाति पत्रकारको संगठन अनिज स्थापना गरेर हालसम्म फोनिजमा महत्वपूर्ण योगदान गर्नु भएको भन्दै संस्थापक अध्यक्षको रुपमा सम्मान गरिएको हो । पत्रकारिता क्षेत्रमा क्रियाशील नयाँ पुस्तालाई हौसला प्रदान गर्नमा सहयोग पुगोस् भन्दै कालिका एफएमका कुमाललाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ केन्द्रका सिर्जना अर्याल, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाश ज्ञवाली र फोनिजका अध्यक्ष सन्दिपकुमार श्रेष्ठले संयुक्त रुपमा तीनै जना पत्रकारहरुलाई सम्मान गरेका हुन् । तीनै जनालाई सम्मान पत्र, खादा र अविरले सम्मान गरिएको थियो ।
यस्तै फोनिजले पहिलो पटक आफ्नो स्थापना दिवस तथा अधिवेशनको अवसर पारेर स्मारिका विमोचन गरेको छ । उक्त स्मारिकाको ‘फोनिज सन्देश चितवन’ नामाकरण गरिएको छ । फोनिजको एकदशकको इतिहासमा स्मारिका प्रकाशनलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
स्मारिका प्रकाशनले फोनिजको गतिविधि अझ बढी चलायमान हुने विश्वास फोनिजका अध्यक्ष श्रेष्ठको भनाइ छ । आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन फोनिजमा १७ जनजाति समावेश छन् । नयाँ र पुराना गरी १ सय २२ जना आवद्ध रहेका छन् ।