–प्रमिला तामाङ
चितवन । भरतपुर–२ लायन्सचोकमा नेवा पत्रकार राष्ट्रिय दबू चितवन शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०६ औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम गरिएको दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठले जानकारी दिए ।
उक्त खुल्ला रक्तदान कार्यक्रममा २५ जना रक्तदाताहरुले रक्तदान गरेका हुन् । जसमा पाँच महिलासहित २० जना पुरुष रक्तदाताहरुले रक्तदान गरेका थिए ।
नेपाल पत्रकार महासंघका चितवनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि महेन्द्र श्रेष्ठले रगत संकलन ब्याग रक्तदातालाई हस्तान्तरण गरी रक्तदान कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले रक्तदान जीवनदान भएकोले सबैलाई रक्तदान गर्न आह्वान गरे ।
कार्यक्रममा भरतपुर वडा नं. २ का वडाअध्यक्ष पूर्णबहादुर श्रेष्ठले रक्तदान कार्यक्रमको सफलताको कामना व्यक्त गरे । जुनसुकै कार्य समयमा गर्नुपर्ने र समयको महत्वलाई बुझेर काम गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष नारायण अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखाका सल्लाहकार अमरदेव प्रधान, तामाङ पत्रकार संघ केन्द्रीय सचिव उर्गेन तामाङ, नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय उपाध्यक्ष सन्दिप श्रेष्ठ, तामाङ पत्रकार संघ चितवन शाखाका अध्यक्ष बबिलाल तामाङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम दबू चितवनका अध्यक्ष कमलमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।