April 26, 2025

चितवनमा फलफूल व्यवसायी संघको साधारण सभा सम्पन्न

December 31, 2021
- ADVERTISEMENT -

–प्रमिला तामाङ
चितवन । फलफूल तथा तरकारी थोक व्यवसायी संघले शुक्रबार २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरेको हो ।
प्रमुख अतिथि श्रेष्ठले निजी क्षेत्रको व्यापारिक प्रवद्र्धनको लागि उद्योग वाणिज्य संघ चितवन सधैँ सहकार्य गर्न तयार रहेको बताए । व्यवसायीको समस्या निराकरणका लागि पदमा रहँदा वा नरहँदा पनि सदैव तत्पर रहने उनको भनाइ थियो ।
नेपाल फलफूल तथा तरकारी थोक व्यवसायी महासंघ उपाध्यक्ष शालिकराम घिमिरेले व्यवसायीहरु एकजुट हुनुपर्ने बताए । एकले अर्कोलाई हातेमालो गर्दै अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाका महासचिव जयराम पाण्डेले कार्यप्रगति प्रतिवेदन प्रस्तुत र कोषाध्यक्ष रामराज पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
फलफूल तथा तरकारी थोक व्यवसायी संघका कार्यवाहक अध्यक्ष मुकुन्दप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका निवर्तमान अध्यक्ष थिरप्रसाद धिताल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठलगायतले बोलेका थिए ।
साथै संघले शुक्रबार नै संस्थाको आठौँ अधिवेशनसमेत जारी राखेको छ । शुक्रबार नै नयाँ नेतृत्व चयन गर्नेगरी साधारण सभा र अधिवेशन आयोजना गरे पनि नेतृत्व चयन टुंगो नलाग्दा अधिवेशन जारी रहेको हो । अध्यक्षलगायत केही पदाधिकारी पदमा टुंगो लागे पनि केही पदाधिकारी र कार्यसमिति सदस्यमा आकांक्षी धेरै देखिएपछि शनिबार मात्रै नयाँ नेतृत्व चयन गर्नेगरी अधिवेशन जारी राखिएको संघका महासचिव जयराम पाण्डेले जानकारी दिए ।
उनका अनुसार आगामी दुई वर्षे कार्यकालको लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न लागेको हो । वि.सं. २०५२ सालमा स्थापना भएको संघमा १४५ जना सदस्यहरु रहेका छन् ।

- ADVERTISEMENT -