April 30, 2025

नेविसंघले गर्यो बिरेन्द्र बहुमुखि क्याम्पसमा तालाबन्दी

January 22, 2022
- ADVERTISEMENT -

चितवन / भरतपुर स्थित बिरेन्द्र बहुमुखि क्याम्पसमा तालाबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले कोरोना भएका विद्यार्थीलाई वेवास्ता गरेर सिम्याटको प्रवेश परीक्षा सञ्चालन गरेको भन्दै आज (शनिबार) क्याम्पस प्रशासनमा तालाबन्दी गरेको हो । क्याम्पसका जिम्मेवार व्यक्तिहरुले नै कोरोनालाई नजरअन्दाज गर्दै परीक्षा सञ्चालन गरेकोको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संघले उक्त कार्यक्रमको घोर भर्त्सना समेत गरेको छ । “क्याम्पसमा माघ ८ मा सञ्चालन भइरहेको सिम्याट परीक्षामा कोभिड पोजेटिभ भएका विद्यार्थीहरुलाई वेवास्ता गर्दै क्याम्पसका जिम्मेवार व्यक्तिहरुद्धारा महामारीलाई नजरअन्दाज गरेको पाइएकोले उक्त कार्यको नेविसंघ घोर भर्त्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
यस्तै प्राध्यापकहरु यही क्याम्पसमा अध्यापन गराउनुपर्ने समयमा अन्य निजी क्याम्पसमा अध्यापन गराउने गरेको समाचार बिभिन्न सञ्चार माध्यममा आउँदा पनि क्याम्पस प्रशासन मौन रहेको भन्दै त्यस्ता प्राध्यापकहरुलाई कारबाहीको माग गरेको छ ।
क्याम्पस प्रशासन भन्छ : संक्रमित भएको प्रमाण हुनेलाई छुट्टै राख्छौं
क्याम्पस प्रमुख दयाराम पौडेलले कोरोना संक्रमित भएको प्रमाण देखाउनेलाई छुट्टै राखिने बताएका छन् । कुन विद्यार्थीलाई कोभिड छ भन्ने बारे आफुहरुलाई थाहा नहुने भन्दै प्रमाण देखाउनेलाई एकैठाँउमा नराखिने उनले बताए । “प्रमाण चाहियो, प्रमाण नभइकन कसरी थाहा हुन्छ, उनले भने, प्रमाण देखाउनेलाई त हामी छुट्टै राखिहाल्छौं नि ।”

- ADVERTISEMENT -