चितवन । तामाङ समुदायले मञ्जुश्री २८५८औं ‘सोनाम ल्होछार’ पर्व चितवनलगायत देशैभर बुधबार पूजापाठमा सिमित रही मनाएको छ । कोरोनाका कारण यो वर्ष तामाङ समुदायले ल्होछार पर्व चितवनलगायत देशैभर नमनाउने निर्णय गरेको हो ।
ल्होछार पर्व भक्तजनहरुको न्यून संख्याको उपस्थितिमा लोखर पूजा (ग्रह फाल्ने) सम्पन्न गरिएको भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ तामाङले जानकारी गराइन् । गुम्बामा भिडभाड नगरी भक्तजनहरुलाई स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै पूजापाठ गरिएको उनले बताइन् ।
उनका अनुसार गुम्बा तथा समाजका सदस्यहरु न्यून संख्याको उपस्थितिमा शुभकामना आदानप्रदान गरी ल्होछार पर्व सम्पन्न भएको हो ।
यसअघि ल्होछार नमनाउने निर्णय भएसँगै समाजका अध्यक्ष तामाङले नगरका सबै तामाङ समुदायलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई गुम्बामा भिडभाड नगरी पूजापाठ गर्न र यसपटकको ल्होछार पर्व घरमै मनाउन आग्रह गरेकी थिइन् ।
समाजले चितवन जिल्लाकै ठूलो छेच्यु थर्पलिङ गुम्बा भोजाडमा वर्षेनी सोनाम ल्होछार पर्व मनाउँदै आइरहेको छ भने यस वर्ष कोरोनाका कारण स्थगित गर्नु परेको हो ।
विश्व पञ्चशील गुम्बामा पूजापाठ
यस्तै भरतपुर ११ लामाटोल स्थित विश्वशान्ति पञ्चशील बुद्ध गुम्बामा ल्होछार पर्वका दिन बत्ती बाल्ने तथा पूजापाठ गरिएको छ । न्यूनसंख्यामा भक्तजनहरुलाई भिडभाड नगरी पूजापाठमा सहभागी गराइएको गुम्बा अध्यक्ष शिवकुमारी लामाले बताइन् । उनले सामाजिक दूरी कायम राख्दै ल्होछार पर्वको अवसरमा शुभकामना आदान प्रदान गरी मनाइएको जानकारी दिइन् ।
यो वर्ष समय प्रतिकूल भएकै कारण जनस्वास्थ्यको सुरक्षालाई ख्याल गर्दै तामाङ समुदायले सामान्य पूजापाठमा मात्र सिमित रही ल्होछार पर्व सम्पन्न गरी मनाएको हो । गुम्बामा उपस्थित भक्तजनहरुलाई सामान्य चियापानको व्यवस्था गरिएको थियो भने केही भक्तजनहरु ल्होछार पर्वको खुशीयालीमा स्वतःस्फूर्तमा नाचगान गरेको देखिएको थियो ।
सार्वजनिक बिदा ः
यस्तैगरी सरकारले सोनाम ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गत मंगलबार गरेको हो । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मञ्जुश्री पात्रोअनुसार २८५८ औँ वर्ष सुरु भइसकेको छ भने यो बाघ वर्ष हो । पात्रो अनुसार मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ किसिमका वर्ष हुन्छन् । तामाङ, गुरुङ, शेर्पा लगायत भाषामा ल्हो भनेको वर्ष र सार भनेको फेरिनु हो । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ ।
२८५७ वर्ष अघि मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट मञ्जुश्री संवत् सुरु भएको मान्दै ल्होछार मनाउन थालिएको जनविश्वास छ ।
तामाङ समुदायको ल्होछार कोरोनाका कारण पूजापाठमै सिमित
February 3, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
