April 25, 2025

बिद्युत तार सार्न नयाँ कार्यविधि

February 7, 2022
- ADVERTISEMENT -

काठमाडौं / नेपाल विद्युत प्राधिकरणले ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ।
प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरणसम्बन्धी कार्यविधि’मार्फत् संरचना सार्ने कामलाई व्यवस्थित बनाएको छ। कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण गर्दा लाग्ने खर्च र पूरा गर्नुपर्ने दायित्व लगायतका व्यवस्था गरिएको छ।
प्राधिकरणले प्राविधिक जाँच गरी सम्भव देखिएमा मात्र ४००/२३० भोल्ट (एलटी लाइन), ११ केभी र ३३ केभीसम्मको लाइनको तार, पोल र त्यसमा जडान भएको ट्रान्सफर्मरलगायतका संरचनाको स्थानान्तरण गर्नेछ।
काठमाडौं उपत्यका लगायतका देशका विभिन्न सहरी क्षेत्रमा सरकारी निकाय,स्थानीय तह, उपभोक्ता समिति, व्यक्तिरसंस्थामार्फत सडक विस्तारका क्रममा विद्युतीय संरचनाहरू सार्न माग गर्दै प्राधिकरणमा निवेदन आउने गरेको छ।
साथै, व्यक्तिगत जग्गाको बीचमा लाइन परी जग्गा उपभोग गर्न नमिल्ने भएको उल्लेख गर्दै पोल, तार तथा ट्रान्सफर्मर सार्नका लागि प्राधिकरणमाथि दबाब पर्ने गरेको छ। प्राधिकरणले कार्यविधिमार्फत प्राविधिक जाँचबाट उपयुक्त देखिए र स्थानान्तरण गर्ने स्थानमा विरोध नभएको सुनिश्चित भएमा मात्र विद्युतीय संरचना सार्न सकिने व्यवस्था गरेको छ।
कार्यविधिले विद्युतीय पोल, तार, ट्रान्सफर्मर लगायतका संरचना स्थानान्तरणको प्रक्रिया, स्वीकृति दिने अधिकारी, सार्दा लाग्ने खर्च कसले व्यहोर्ने भन्ने व्यवस्था प्रष्टसँग व्यवस्था गरिएकाले त्यस्ता संरचना सार्ने काममा हुन सक्ने सम्भावित चलखेललाई रोक्ने प्राधिकरणको विश्वास छ।

- ADVERTISEMENT -