April 25, 2025

सर्टिफिकेटको माग गर्दा विद्यार्थीलाई प्रअको धम्की

February 12, 2022
Photo : Halkaro
- ADVERTISEMENT -

नवलपुर / नवलपुर जिल्लाको कावासोती नगरपालिका वडानम्वर ८ मा अवस्थित ज्ञानोदय माविले विद्यार्थीहरुलाई सर्टिफिकेट नदिएर दुःख दिने गरेको छ । सभ्य भाषामा विद्यार्थीसँग कुराकानी गर्नु त परको कुरा गुण्डाशैलीमा उक्त विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले विद्यार्थीहरुलाई थर्काउने र धम्की समेत दिने गरेका छन् । उक्त विद्यालयबाट एसइई परीक्षा पास गरेर अन्यत्र कलेजमा अध्ययन गर्दै आइरहेका विद्यार्थीहरुलाई सर्टिफिकेट दिनबाट बन्चित गराइरहेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
कावासोतीकै अर्कौ एक कलेजमा अध्ययनरत सोही विद्यालयबाट एसइइ दिएका विद्यार्थीले विगत चार महिनादेखि विद्यालय गएर एसइई पासको सर्टिफिकेट मागेपनि विद्यालयले नदिएको हो । ती विद्यार्थीले भने, ‘सरकारी विद्यालयमा पनि गुण्डाशैली जस्तैगरी विद्यार्थीलाई थर्काउने गरेका छन् । विद्यार्थीको अधिकार हो नि जहाँ मन लाग्यो त्यहाँ पढ्ने । तर विद्यालयले अर्को कलेजमा गयो भनेर सर्टिफिकेटनै दिएको छैन ।’ ती विद्यार्थीले थपे, ‘प्रधानाध्यापकनै विद्यार्थीलाई थर्काउने र धम्की दिने गर्दछन् ।’ विद्यार्थी र अभिभावक पटक पटक विद्यालय गएर विद्यार्थीले मागेपनि आफूले प्राप्त गर्ने सर्टिफिकेट विद्यालयले रोकेपछि अन्तै भर्ना भएका उनीहरु समस्यामा परेका छन् ।
विद्यार्थीहरुले अन्य कलेजमा भर्ना फारम समेत भरिसकेका छन् । केहीले पैसा समेत तिरीसकेका छन् । तर ज्ञानोदयले भने विद्यार्थीहरुलाई यही पढ्न पर्ने र अन्त गए केही पनि नदिने धम्की दिँदै आइरहेका छ । विद्यार्थीहरुले हामीलाई दिएको प्राप्त भिडियोमा समेत विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले सर्टिफिकेट माग्न गएका विद्यार्थीहरुलाई थर्काएको सुनिन्छ । सर्टिफिकेट माग्न गएका विद्यार्थीलाई अभद्र शैलीमा उनी भन्छन्, ‘बुझिस् । ल जा तिमीहरुले के के गर्न सक्छ गर । मिडिया ल्याराइज, कार्यालयमा जा । कुनै हालतमा यो वर्ष सर्टिफिकेट पाउँदैनस् । यही पढे पढ, नत्र कहिँ पढ्न पाउँदैनस् ल जा ।’ उनी थप्छन्, ‘साइन्स पढेकालाई हामीले दिइराछौँ ।’
‘वाहानावाजी बनाएर केही पनि पाउदैनस् । नारायणगढ गएको कोही छ भने आइज, काठमाण्डौ गएको कोही छ भने आइज,’ भिडियोमा उनले भनेका छन् । यो कुनै शिक्षा क्षेत्रभन्दा बाहिरको व्यक्तिको भनाई होइन । एउटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले सर्टिफिकेट माग गर्न गएका विद्यार्थीहरुलाई दिएको अभिव्यक्ति हो । उनी अझै रोकिदैनन् , उनी भन्छन्, ‘यहाँको तीन वटा कलेजमा पढ्ने हो भने कुनै हालतमा पाउदैनस् ल जा । जहा जहाँ गर भन्ने हो जा । जुलुस ल्याराइज जा‘‘ ।’ यता नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले एउटा शिक्षकले त्यसो भन्नुहुन्छ होला र ? भन्दै आश्चर्य व्यक्त गरे । उनले भने, ‘जबरजस्ती मेरै विद्यालयमा पढ भनेर कुन कानुनले भन्छ त्यस्तो ? विद्यार्थीको स्वतन्त्र अधिकार हुन्छ, विद्यालय कलेज छनौट गर्ने । सहजै सर्टिफिकेट दिनुपर्छ ।’
‘यहाँ गुनासो आए तुरुन्तै समस्या समाधान हुन्छ । त्यसरी रोक्न मिल्दै मिल्दैन । तर मेरो विद्यालयमा यो यो कारणले पढ्नु, यो यो सुविधा छ भन्न सक्नुहुन्छ’ सिडिओ घिमिरे थप्छन्, ‘मेरोमा मात्रै पढ्नु भन्नु उहाँको मात्रै विद्यालय हो र ?’ यता विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले भने आफूहरुले सर्टिफिकेट दिन नरोकेको दावी गर्छन् । उनले विद्यार्थीकै अभिभावकले लिखित रुपमै कक्षा १२ सम्म पढाउनेगरी कागज गरेको समेत बताए । विद्यार्थीनै ढिलागरी सर्टिफिकेट लिन आएको समेत उनको भनाई थियो ।
तर विद्यार्थीले भने चार महिना अघिदेखि धाउँदा पनि नपाएको बताएका छन् । प्रमाणको रुपमा भिडियो सम्म खिच्न भ्याएको बताएका विद्यार्थीहरुले टिकटकमा समेत राखेका थिए । पछि केही शिक्षक ती विद्यार्थीको घरमै पुगेर भिडियो डिलिट गर्न लगाएको समेत दावी विद्यार्थीको छ । आफूहरुले सर्टिफिकेट पाउनुपर्ने र रोजेको विद्यालयमा पढ्न पाउनुपर्ने माग विद्यार्थीहरुको छ । करिव ६० देखि ७० विद्यार्थीले सर्टिफिकेट पाउनबाट बन्चित भइरहेको विद्यार्थीहरुले बताएका छन् । सर्टिफिकेट नपाउँदा पढाइबाट बन्चित हुनुपर्ने हो की भन्ने डर भएको र सोमवार सम्म पढेको विद्यालयमै फर्म भर्नुपर्ने वाध्यता रहेको विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीका अनुसार कतिसम्म भने फर्म भरिसकेको र जिल्ला समन्वयमा पठाइदिएको बताउँदै रकम समेत विद्यालयले माग गरेको बताएका छन् । ‘हामीहरु अन्तै पढीरहेका छौँ यता विद्यालयले फर्म भरेर पठाइसक्यौँ सर्टिफिकेट होइन पैसा लिएर आउनुस भन्दा रहेछन’ ती विद्यार्थीले भने । आफूहरुले सोमबारसम्म अहिले पढिरहेको कलेजमा फर्म भर्नुपर्ने र जसरी न्याय दिन माग गरिरहेका छन् ।

- ADVERTISEMENT -