चितवन / चितवनको भरतपुर आँखा अस्पतालमा नयाँ भवन बन्ने भएको छ । उक्त भवनको लागि १४ करोड लगानी लाग्ने बताइएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको उक्त नयाँ भवनको एक समारोहबीच सोमबार शिलन्यास गरिएको हो । बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको अस्पतालले जनाएको छ ।
उक्त नयाँ भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरेका हुन् । अस्पतालले रु. १४ करोड ३५ लाख खर्च गरेर सुविधासम्पन्न भवन बनाउन लागेको हो । भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि रु. ४ करोड १२ लाख ५० हजार ५९३ लागतमा काम सुरु गर्न लागेको अस्पतालले जनाएको छ ।
भवन निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्नको लागि कुल रु. १४ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ । बजेट अभाव भएका कारण हाललाई सुरुवात मात्रै गर्न खोजिएको नेपाल नेत्र ज्योति संघका सभापति एवम् भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिनुभयो । निर्माण थालेको ६ महिनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको छ । तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुईँतलामा बच्चा (पेडियट्रिक) वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा शल्यक्रियाकक्ष (अपे्रशन थियटर) सञ्चालन हुनेछ ।
बि.सं. २०४४ साल चैत १८ गते आँखा रोगको निदान एवं उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो । स्थापना कालमा ३६ शैयाबाट सेवा दिएको अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, जलविन्दुको शल्यक्रिया, क्यालेजियन टेरिजियम र अन्य आँखाका सामान्य रोगहरुको निदानका गरिनुका साथै चश्मा र औषधि सेवा उपलब्ध थिए । अस्पतालले सेवा विस्तार गर्दै लगेको छ ।
हाल अस्पतालमा बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरंग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवाहरु, चस्मा जाँच सेवा, सामान्य शल्यक्रिया, आँखा स्वास्थ्य परामर्श सेवा लगायतका सेवा उपलब्ध रहेको धरेलले जानकारी दिनुभयो ।
अस्पतालले सेवा विस्तार गर्न क्रममा विभिन्न ठाउँमा शाखा तथा उपशाखा सञ्चालन गरेको छ । ठोरीको गौतमनगर, नवलपुरको कावासोती र बाराको सिम्रौनगढमा आँखा अस्पताल संचालन गरेको छ । चितवनको माडी, रत्ननगर, पर्सा, चनौली, कुरिनटारमा आँखा उपचार केन्द्र रहेका छन् भने जिल्ला बाहिर धादिङको नरसिंहधाम सल्यानटार, सिन्धुलीको दुधौली, नवलपुरको हुप्सेकोट, नवलपुरकै चोरमारा र धादिङको बेनिघाटमा आँखा उपचार केन्द्र संचालनमा रहेका छन् । भरतपुर ओरालोमा बहिरंग सेवा संचालन हुँदै आएको छ । ती सबै शाखा तथा उपशाखामा दैनिक करिब सातसयदेखि आठसय जनासम्मले सेवा लिँदै आएका छन् ।
अस्पतालले केही वर्षअघिदेखि आँखा बैंक समेत स्थापना गर्ने योजना सहित आँखाको नानी प्रत्यारोपणमा काम गर्दै आएको छ । अस्पतालकी आँखा बैंक संयोजक छाया श्रेष्ठका अनुसार हालसम्ममा ९२ जना सेवाग्राहीले आँखाको नानी फेरिइसकेका छन् । जीवित छँदै आँखा दान गरेकाहरुको मृत्युपश्चात दाहसंस्कार गर्नुपुर्व नै आँखाको नानी संकलन गरेर आँखा प्रत्यारोपण गर्ने गरिन्छ ।
अस्पतालमा गत आर्थिक वर्षमा ८८ हजार ५९७ जनाले बहिरंग सेवा र ६ हजार ८०६ जनाको शल्यक्रिया गरिएको थियो । कोभिडका कारण यो संख्या घटेको हो । आर्थिक वर्ष ०७५÷०७६ मा १ लाख ३७ हजार ५२५ जनाले बहिरंग सेवा लिएको अस्पतालले जनाएको छ ।
भरतपुर आँखा अस्पतालमा मात्रै हाल दैनिक ४ सयदेखि पाँच सय बहिरंग सेवाका बिरामी आउने गरेका छन् भने १५ देखि २० जनाको शल्यक्रिया हुने गरेको छ । अस्पतालमा हाल ६२ शैया सञ्चालनमा रहेका छन् । अस्पतालमा नवनिर्मित भवन निर्माणको काम सकिएसँगै एकसय शैया थप हुने अस्पतालका प्रशासक दयाशंकर चौधरीले जानकारी दिनुभयो । यो भवनबाट पनि सेवा सञ्चालन भएपछि आँखाको समस्यासम्बन्धी सेवाग्राहीलाई जटिलभन्दा जटिल खालका समस्या उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने दावी उहाँले गर्नुभयो ।
भवन शिलन्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भवन निर्माणका लागि महानगरले रु. १ करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तत्काल आधा रकम र बाँकी आगामी आर्थिक वर्षमा प्राप्त हुने गरी सुनिश्चितता गराउने उहाँको भनाई थियो ।
सरकारको एक शहर एक पहिचान रुपमा भरतपुर मेडिकल सिटीको रुपमा विकास भएको भन्दै उहाँले यहाँको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल नेत्रज्योति संघका पूर्व केन्द्रीय कोषाध्यक्ष एवं संघ चितवनका पूर्व सभापति चिजकुमार मास्केले अस्पतालको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा संघका बागमती प्रदेश संयोजक ऋषि पौडेल, नेत्रज्योती संघका केन्द्रीय महासचिव भरत चन्द, सेवा फाउण्डेशनका कन्ट्री डाईरेक्टर रामप्रसाद कँडेल, संघका सहसचिव केशव अधिकारी लयागतले बोल्नुभएको थियो ।
भरतपुर आँखा अस्पतालमा १४ करोडमा नयाँ भवनको थालनी
February 15, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
