April 30, 2025

चितवनका उपमेयर लामा बने वृद्धवृद्धाको अभिभावक, तीनै पुस्तालाई दिलाए नागरिकताको प्रमाणपत्र

February 17, 2022
- ADVERTISEMENT -

चितवन / चितवनमा तीन पुस्ताले एकैपटक नागरिकताको प्रमाणपत्र पाएका छन् । नागरिकताको प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय चितवन धाउँदा धाउँदा हैरान भएका उनीहरुले अन्ततः नागरिकताको प्रमाणपत्र पाएका हुन् ।
राप्ती नगरपालिका–६ का वर्ष ७५ का पाल्मा चौधरी र उनकी श्रीमती वर्ष ६१ की कनानी चौधरीले नागरिकताको प्रमाणपत्र पाएकी हुन् । उनीहरुका छोरा र तीन छोरी छन् । छोरातर्फका नातिनातिनाहरु पनि नागरिकताको प्रमाणपत्र बनाउने उमेरका भइसकेका छन् ।
राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको सनाखतमा जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुलाई नागरिकताको प्रमाणपत्र दिएको हो । उपमेयर लामाले पाल्माको घरमै पुगेर यथार्थ जानकारी लिएपछिमात्रै नागरिकता दिलाउने अठोटमा पुगेका हुन् । उपमेयर लामाले चौधरी परिवारका सदस्यहरुलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएका थिए ।
उपमेयर लामाले यसअघि केही वृद्धवृद्धाको लागि पनि नागरिकताका बनाउन आफैँले सनाखत गरिदिएका थिए । नागरिकताबाट वञ्चित बनेका ७१ वर्षीया फूलमाया अधिकारी, उनका ७४ वर्षीय श्रीमान्, ७५ वर्षका चंखे दराई, ७३ वर्षका भिखुला दराई, ७४ वर्षका बेले विक, ४९ वर्षकी नारायणी उप्रेतीलगायतका लागि सनाखत गरी जिल्ला प्रशासन कार्यालय पु¥याएर नागरिकता बनाइदिएको उनले बताए ।
आफ्नो नातागोता कोही नहुँदा धेरैले पीडा भोगेका उनले बताए । हाम्रो नगरमा हामी (जनप्रतिनिधिहरु) नै अभिभावक बनेर सेवा दिनुपर्ने उनले भने ।
जिल्ला प्रशासन कार्यालय, चितवनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १० हजार २१७ जनाले वंशजको आधारमा नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन् ।

- ADVERTISEMENT -