काठमाडौँ / राष्ट्रिय मानवअधिकार आयोगले पल शाह पक्ष र विपक्षमा हिंसा भड्किने कुनै पनि किसिमको कार्य नगर्न आग्रह गरेको छ । आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न शुक्रबार आग्रह गरेको हो ।
हिंसा भड्किने र जनमानसलाई उत्तेजित गर्ने गतिविधिले आरोपित र पीडित दुबै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ ।
‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ’, आयोगका सहायक प्रवक्ता लोकनाथ वास्तोलाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमति विना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न र अतिप्रचारका कारण प्रमाणहरु नष्ट हुनेतर्फ विचार पु¥याउनु पर्दछ ।’
गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने छ । आयोगले अनुगमन तथा सूचना सङ्कलन गरिरहेको जनाएको छ ।
यसप्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्यायसम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको देखिन्छ ।