April 19, 2025

आरक्षणमा होइन, प्रतिस्पर्धामा उत्रिऔं

March 16, 2022
- ADVERTISEMENT -

–सुवास योञ्जन तामाङ
हुन त नेपालको संविधानमै आदिवासी जनजातिहरुलाई आरक्षण कोटा सुनिश्चित गरिएको छ । हरेक क्षेत्रमा जनजातिहरुलाई समेट्ने उद्देश्यले आरक्षणको व्यवस्था गरेको छ । जसको कारण धेरै क्षेत्रमा जनजातिहरु समेटिएका पनि छन् । जनजातिभित्रको पनि प्रमुख जातिको रूपमा रहेको तामाङ समुदायले पनि त्यसको सुविधा उपयोग गरेकै छन् । गाउँगाउँमा उपभोक्ता समिति गठनदेखि लोकसेवा आयोगमा समेत जनजातिहरुलाई कोटा दिइँदै आएको छ ।
हुँदा हुँदा अहिले त जनजातिहरुलाई मात्र होइन, हामीले भन्दै आएको उपल्लो जातिको क्षेत्री बाहुनले पनि आरक्षणको कोटा ल्याइसकेको छ । प्रमुख राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपा नेपालको केही समयअघि सम्पन्न महाधिवेशनमा समेत खसआर्यको छुट्टै कोटाको व्यवस्था गरिएको छ ।
यसरी राजनीतिक दलमा कोटा छुट्टिँदै जाँदा लोकसेवा आयोगदेखि विभिन्न क्षेत्रमा पनि खसआर्य क्षेत्रका समुदायले पनि आरक्षणको माग नराख्ला भन्न सकिँदैन । यसो भनिरहँदा आरक्षण नै हुनुहँुदैन भन्नेचाहिँ पक्कै होइन । पछिल्लो समय नेपाल पत्रकार महासंघमा पनि आरक्षणको कोटा तोकिएको छ । त्यही कोटाकै आधारमा महासंघको केन्द्र, प्रदेश हुँदै जिल्ला तहको नेतृत्वमा जनजाति र त्यसभित्र पनि तामाङ पत्रकारहरुले नेतृत्व गर्ने अवसर पाएका छन् ।
हामीले महासंघको कार्यसमितिमा आरक्षण कोटाबाट नेतृत्व गरिरहँदा के साँच्चै तामाङ पत्रकारहरुका लागि न्यायसंगत काम गर्न सक्यौँ त भन्ने सोच्नु आवश्यक देखिन्छ । अहिले महासंघको नेतृत्वमा गइरहँदा हामीले पाउने भनेको सहसचिव र सदस्यमात्र हो । त्यहाँको निर्णयकर्ता र नेतृत्वकर्ता भने अन्य समुदायकै हालीमुहाली हुने भएकोले आरक्षण रोज्नुभन्दा प्रतिस्पर्धामा उत्रिएर कार्यकारी भूमिकामा जानुपर्ने बेला भएको छ ।
जब हामी सक्रिय हुन्छौँ र सदस्य विस्तारमा आक्रामक हुन्छौँ त्यो बेला कार्यकारी भूमिकाका लागि प्रतिस्पर्धामा उत्रिन सक्छौँ । प्रतिस्पर्धीमा उत्रिएर जति धेरै क्रियाशीलता र सदस्य विस्तार धेरै गर्न सके हामीले अवश्य पनि नेतृत्वका लागि दबाब दिन सक्छौँ । त्यसैले अबको हाम्रो जोड भनेको आरक्षणमा अरुसँग हात थापेर पद लिनुभन्दा प्रतिस्पर्धामा उत्रिनुपर्ने बेला आइसकेको छ ।
महासंघको राजनीतिमा मात्र होइन, हाम्रो पत्रकारिकता जीवनमा पनि प्रतिस्पर्धामा उत्रिनुपर्छ । जबसम्म हामीले मूलधारको मिडियामा प्रतिस्पर्धामा उत्रिएर काम गर्न सक्छौँ त्यति नै हाम्रो समुदायको लागि आवाज बुलन्द गर्न सक्छौँ । सरकारी मिडियादेखि मूलधारको मिडियामा कहीँ पनि आरक्षणको कुरा हुँदैन । त्यसैले प्रतिस्पर्धामा उत्रिनका लागि हामी पहिले आफैँ सक्षम हुनुपर्छ । जब हामी सक्षम हुन्छौँ तब कुनै पनि मिडियाले हामीलाई लिनका लागि आनाकानी गर्दैनन् । त्यसका लागि अध्ययन, अनुसन्धानका लागि आरक्षणमा होइन, प्रतिस्पर्धामा विश्वास गर्नुपर्छ ।
कुनै पनि मिडियामा काम गर्नका लागि तामाङ पत्रकारकै लागि भनेर कोटा छुट्याइएको हुँदैन ।
के कोटा नभएको ठाउँमा तामाङ पत्रकारले काम नगर्ने त ? यो होइन, अब हामीले प्रतिस्पर्धामा उत्रिएर तामाङ पत्रकारहरुले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा दर्बिलो समाचारहरु लेखेर अगाडि बढ्नुपर्ने अवस्था आएको छ ।
तामाङ पत्रकारको भ्रम र यथार्थ
अहिले तामाङ भाषाको समाचार र कार्यक्रम चलाउने, लेख्नेलाई मात्र तामाङ पत्रकार हो भन्ने कहीँकतै आवाजहरु पनि सुनिन्छ । तर, यो हाम्रो मानसपटलमा छाएको ठूलो भ्रम हो । जसले आफ्नो नामको पछाडि तामाङ लेखेर सञ्चारकर्ममा लागेको हुन्छ, उनीहरु सबै तामाङ पत्रकार हुन् । यति भनिरहँदा जसले तामाङ भाषाको समाचार लेख्दैन, पढ्दैन र संस्कृतिको कुरा गर्दैन तिनीहरुलाई कसरी तामाङ पत्रकार भन्ने प्रश्नहरु पनि उठ्न सक्छ । त्यसो भए के हामीले तामाङ भाषाको कार्यक्रममात्र चलाएर र तामाङ भाषाको प्रयोगले मात्र हाम्रो समाज परिवर्तनमा सहयोग पुग्छ त भन्ने बहसहरु पनि हुन जरूरी छ ।
विश्व २१ औँ शताब्दीमा लम्किरहँदा तामाङहरु भने सधैँ आफ्नो भाषा, संस्कृतिमात्र भनेर कहिलेसम्म आवाज उठाउने भन्ने विषयमा पनि सोच्ने बेला आएको छ । हामीसँगैका साथीहरु प्रतिस्पर्धा गरेर कति प्रगति गरिहँदा हामी भने उही परम्परागत शैलीमा लागिरहँदा हाम्रो जीवनशैली कस्तो बनाउने भन्ने पनि चिन्तन मनन गर्ने बेला आइसकेको छ । त्यसैले अबको हाम्रो पत्रकारिता र मिसन भनेको भाषा, संस्कृति र सभ्यतालाई संरक्षण र सम्बद्र्धन गर्दै प्रतिस्पर्धी भएर अघि बढ्नुपर्ने बेला आएको छ ।
(लेखक तामाङ पत्रकार संघ केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)

- ADVERTISEMENT -