चितवन / कोरोना कहरका कारण विगत दुई वर्ष देखि स्थगित बिक्रमबाबा मेला यस वर्ष सञ्चालन हुने भएको छ । यही चैत १८ गतेदेखि बैशाख ३ गतेसम्म बिक्रमबाबा मेला हुन लागेको हो ।
मेलाका लागि केरुङ्गा उपभोक्ता समिति, पटिहानी उपभोक्ता समिति र घैलाघारी सामुदायीक वनले व्यवस्थापनको काम सुरु गरेका छन् । दुईवटा उपभोक्ता समितिले पूजा व्यवस्थापनको काम गर्ने छन् भने सामुदायिक वनले पार्किङ् व्यवस्थापन र सामुदायिक वन क्षेत्रभित्रको बजार व्यवस्थापनको काम गर्ने छन् ।
पटिहानी उपभोक्ता समितिका उपाध्यक्ष कृष्णहरी शर्माले बिक्रमबाबा मेलामा आउने भक्तजनहरुको चापलाई मध्यनजर गर्दै व्यवस्थापनको काम तिब्र पारिएको बताए । मन्दिरको छाना छाउने काम, खानेपानी, शौचालय व्यवस्थापनदेखि सरसफाइ, भक्तजनलाई आवत जावतका लागि सडक निर्माण, पूजा गर्नका लागि ठाउँ व्यवस्थापनको काम समेत भइरहेको उनले जानकारी दिए ।
उनले भने, ‘यस वर्ष मेला भर्न वा पूजा गर्न आउने भक्तजनको संख्या ५ लाख हुने अनुमान गरेका छौ ।’ केरुङगा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलले मेला व्यवस्थापनका लागि समितिहरु जिम्मेवार ढङ्गले अघि बढेको बताए ।
पूजा व्यवस्थापनका लागि १० सदस्यीय समिति बनाएर काम अघि बढाइएको उनले बताए । मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको उनले जानकारी दिए । साँझ ५ बजेपछि जंगली जनावारको चहलपहल हुने भएकाले सो समय निर्धारण गरिएको उनको भनाई छ ।
मेला सञ्चालन गर्न आउने व्यवसायीहरुलाई साँझ ६ बजेपछि व्यवसाय बन्द गर्न लगाइने घौलाघारी सामुदायीक वनका अध्यक्ष लिलाराज भुषालले बताए । मेला व्यवस्थापनका लागि १ सय १ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको उनले जानकारी दिए ।
आठ वटा उप समिति निर्माण गरी मेला व्यवस्थापनको काम सुरु गरिएको छ । उनले भने ‘सामुदायिक वन क्षेत्रभित्र दिउँसोमा पार्किङ् र मेलाको व्यवस्थापन गरिए पनि साँझ ६ बजेपछि मेला बन्द गर्ने गरी निर्णय गरेका छौ ।’
जंगली जनावारको आक्रमण हुन सक्ने भएकाले अघिल्ला बर्ष जस्तो अबेर सम्म मेला सञ्चालनमा रोक लगाईएको उनले बताए । उनले थपे, ‘ध्रुवे हात्तीले गएराति मात्रै चारवटा घर भत्काएको छ । जंगली जनावारको डर रातको समयमा बढ्दै गएको छ ।’
भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीहरुलाई निकुञ्ज बाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले निर्धारीत स्थानमा मात्रै पूजापाठ गर्ने व्यवस्था मिलाईएको बताए ।
स्वास्थ्य मापदण्डको पालना गर्दै बिक्रमबाबाको दर्शन गर्न आउन भक्तजनहरुलाई अपिल गरिएको उनले बताए । उनले भने, ‘कोरोनाको जोखिम कायमै छ । स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै दर्शन गर्न आउनु होला ।’ निकुञ्जभित्र प्लाष्टिक जन्य बस्तु निषेध समेत गरिएको उनको भनाई छ ।
भक्तजनहरुले ल्याएको प्लाष्टिकका कारण निकुञ्ज क्षेत्र प्रदुषित बन्ने भएकाले भक्तजनलाई प्लाष्टिकका सामानाहरु निषेध गरिएको उनले बताए । अघिल्ला वर्षहरुमा राप्ती नदीमा डुङ्गाको व्यवस्था गरिएको भए पनि यस वर्ष डुङ्गाको व्यवस्था नरहेको उनले जानकारी दिए ।
राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्जभित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पुजा बिशेष गरी थारु जातिमा प्रचलनमा रहेको छ । बिक्रमबाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुख लगायत मनोकांङ्क्षा पूरा हुने विश्वासका साथ बिक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोरोनाले स्थगित बिक्रमबाबा मेला यस वर्ष हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












