April 22, 2025

विश्व पञ्चशील गुम्बामा दुई मूर्तिको प्राण प्रतिष्ठान, ३ सय बढी भक्तजनको सहभागिता

April 16, 2022
- ADVERTISEMENT -


चितवन । विश्व पञ्चशिल शान्ति बुद्ध गुम्बाको दुई वटा मूर्तिमा कु राप्ने अर्थात् प्राण प्रतिष्ठान कार्य सम्पन्न भएको छ । भरतपुर–११, लामाटोलस्थित उक्त गुम्बामा धर्म गुरुद्वय खेन्पो ङह्वाङ कुङ्गा तामाङ र लोपेन उर्गेङ छिरिङ ह्योल्मोबाट प्राण प्रतिष्ठान कार्य सम्पन्न भएको हो । उनीहरुलाई देहरादूनबाट सो कार्यको लागि बोलाइएको हो ।
संसारको सबै प्राणी र मानव जातिको भलो र उद्धार होस् भनी एकाबिहानैदेखि माने मोल्हम (भगवानको प्रार्थना) गरिएको गुम्बाका अध्यक्ष शिवकुमारीले बताइन् । गुरुद्वय खेन्पो ङह्वाङ कुङ्गा तामाङ र लोपेन उर्गेङ छिरिङ ह्योल्मोसहित १३ जना अन्य गुरुहरुले संयुक्त रुपमा मानी मोल्हम गरेका हुन् ।
सो अवसरमा गुम्बाबाट तीन महिने शम्भोटा लिपि प्रशिक्षणमा सहभागी उत्कृष्ट २ जनालाई पुरस्कृत गरिएको अध्यक्ष लामाले जानकारी दिइन् । शम्भोटा लिपि प्रशिक्षण अत्यन्तै लाभदायक भएको सहभागीहरुको भनाइ थियो भने उनीहरुले यस प्रशिक्षण निरन्तर गरिनुपर्ने सुझाव दिएका थिए ।
गुरुहरुबाट गुम्बाका अध्यक्ष शिवकुमारी लामा र सचिव सिर्जना तामाङ (श्रेष्ठ)लाई महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान पत्र र खादाले सम्मानित गरिएको थियो । यस्तै गुम्बा परिसरमा निर्माणाधिन भवनको लागि १२ लाख बढी सहयोग गर्नुहुने चिनीमाया पाख्रिनलाई सम्मान गरेको हो भने नगद, जिन्सी तथा खाद्यान्न सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै प्राण प्रतिष्ठान गरिएका दुई वटा मूर्तिका लागि शम्भोटा लिपि प्रशिक्षार्थी, माणीपा आमा समूह, स्थानीयहरुको सहयोगबाट सम्पन्न भएको अध्यक्ष लामाले बताइन् । पूजा सम्पन्नपछि गुरुहरुले भक्तजनहरुलाई वाङ (आशीर्वाद) दिएका थिए भने गुरुहरुको विदाईमा स्थानीय कलाकारहरुले मनोरन्जनात्मक कार्यक्रम गरेका थिए ।
पूजा कार्यक्रममा लोज्याङ गुठी, युनिक युथ क्लब, नवजीवन टोल, छेच्यू थर्पलिङ गुम्बा, भरतपुर नगर तामाङ समाजलगायतको संस्थाहरुको सहभागिता रहेको थियो । उक्त प्राण प्रतिष्ठान गुम्बाका गुरु खेन्पो दावा तामाङको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा ३०० बढी भक्तजनहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -