२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१४ वर्षपछि बन्द गरिँदै गिद्ध प्रजनन् केन्द्र

प्रकाशित मिति : २०७९ बैशाख ४ गते
- ADVERTISEMENT -

चितवन / चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द हुने भएको छ । प्रकृतिमा गिद्धको संख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।
उक्त प्रजनन् केन्द्र सन् २००८ मा स्थापना भएको हो भने अण्डा र गिद्ध ल्याएर सुरु गरिएको थियो । हालसम्म १८ वटा बच्चा कोरलेर हुर्कीएको बताइएको छ । १४ वर्षको अवधिमा सरकारको लगानीको तुलनामा प्रतिफल कम देखिएपछि प्रकृतिमा रहेका गिद्धलाई केन्द्रित गरेर जटायु रेष्टूरेन्टहरु मार्फत कार्यक्रम गर्न लागिएको हो ।
प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार हाल प्रजनन् केन्द्रमा १० वटा मात्र गिद्ध रहेका छन् । केही समय अघि त्यहाँका १० गिद्धलाई नवलपरासीको पिठौलीमा रहेको जटायु रेष्टूरेन्टमा लगिएको छ । ती गिद्धलाई केही महिना त्यहीको खोरमा राखे पछि प्रकृतिमा छाडीने छ ।
ती गिद्ध छाडेपछि यहाँका १० गिद्धलाई लगिने कार्यक्रम रहेको प्रमुख आचार्यले बताए । यससँगै कसरामा १४ वर्षदेखि सञ्चालन हुँदै आएको प्रजनन् केन्द्र बन्द हुने उनले बताए । आगामी साउन महिनासम्ममा प्रजनन् केन्द्र बन्द हुने बताइएको छ ।
अघिल्ला तीन वर्ष गिद्धले अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन । कृतिम रुपमा गरिएको प्रजनन् भन्दा प्राकृतिक रुपमा प्रभावकारी देखिएपछि प्रकृतिमा नै संरक्षणमा जोड दिईएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सन् २००८ बाट कसरामा गिद्ध प्रजनन् केन्द्र स्थापना गरी संरक्षण गर्न थालिएको हो । त्यस यता सन् २०१४ बाट प्रजनन् केन्द्रमा गिद्धले अण्डा पार्न शुरु गरेको हो । पहिलो वर्ष ५ अण्डाबाट एउटा मात्रै बच्चा कोरलिएको थियो ।
पौडेलका अनुसार सन् २०१५ मा ७ अण्डाबाट एउटा पनि बच्चा कोरिलिएन । यस्तै सन् २०१६ मा १५ वटा अण्डाबाट नौ वटा बच्चा कोरलिएको भए पनि एउटा मरेको थियो ।
सन् २०१७ मा २१ अण्डाबाट ६ वटा बच्चा कोरलिएको थियो । सन् २०१८ मा २० वटा अण्डाबाट दुई वटा बच्चा कोरलिएकोमा त्यस यता बच्चा कोरल्न सकेको छैन । सन् २०१९ मा १९ वटा र २० मा १४ अण्डा पारेपनि बच्चा कोरल्न सफल नभएको उहाँले जानकारी दिए । गत बर्ष १२ वटा अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेन ।
बाहिरबाट ल्याएर हुर्काइएका गिद्ध र केन्द्रमा नै अण्डा पारेर बच्चा कोरलेर हुर्काईएका गरी ४९ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ । सन् २०१७ बाट प्रकृतिमा गिद्ध छोड्न शुरु गरिएको हो ।
पहिलो वर्ष ६ वटा गिद्ध छाडिएको थियो । सन् २०१८ मा १२ वटा, २०१९ मा १३ वटा र यस वर्ष १८ वटा गिद्ध प्रकृतिमा छाडिएको छ । प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेष्टुरेन्टमा जालिमा लगेर राख्ने गरिन्छ । प्रकृतिमा रहेका गिद्धहरुसँग घुलमिल गराएर छोड्ने गरिन्छ ।
जटायु रेष्टुरेन्टमा प्रकृतिमा रहेका गिद्धहरुसँग सँगै खाने र उनीहरुको आनीबानी हेर्न मिल्ने गरी राखिएको हुन्छ । हाल प्रजनन् केन्द्रमा ५ भाले र ५ पोथी गिद्ध रहेका छन् । ५ भाले र ५ पोथी प्रकृतिमा छोड्नका लागि जटायू रेष्टूरेन्टमा लगिएको छ ।
निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले पछिल्ला वर्षहरुमा प्रकृतिमा रहेका गिद्धहरुको प्रजनन् राम्रो र संख्या बढ्दै गएकाले प्रजनन् केन्द्रमा संरक्षण गरी हुर्काउनुभन्दा प्रकृतिमा नै संरक्षणमा जोड दिईएको बताए ।
उनका अनुसार जटायु रेष्टुरेन्टहरुलाई व्यवस्थित गरेर प्रकृतिमा रहेका गिद्धको संरक्षणमा विभाग लगिएको छ । नेपालले विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने काम गरेको हो ।
हाल नवलपरासी संगै दाङ्, कैलाली र कोशिटप्पुमा जटायू रेष्टूरेन्ट मार्फत गिद्धको संरक्षण गरिदैं आएको छ । यसबाट परिस्थितिय प्रणालीको जगेर्नामा टेवा पुग्ने विश्वास लिईएको छ । मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मीहरु बताउँछन् ।
सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइएको छ ।
धेरै गिद्ध मरेपछि सरकारले संरक्षणमा जोड दिएको थियो । यो औषधिमा रोक लगाए संगै प्रकृतिमा गिद्धको संख्या बढ्न थालेको कंडेल बताउनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -