२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘राप्तीका युवाहरुलाई एकीकृत गरी अभिभावकलाई शिरमा राखिनेछ’ – उमेदवार लामा

प्रकाशित मिति : २०७९ बैशाख १८ गते
photo : newsprabah.
- ADVERTISEMENT -


चितवन । राप्ती नगरपालिका मेयर पदका उमेदवार तथा नेकपा एकीकृत समाजवादी राप्तीका अध्यक्ष शमशेर लामाले राप्तीका आम युवाहरुलाई एकीकृत गरी अभिभावकहरुलाई शिरमा राखेर सबै जनतालाई समान रुपमा हेरिने बताए ।
स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनबाट मेयर पदका उमेदवार लामाले राप्ती नगरपालिका वडा नं. २ मा गठबन्धन चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटनमा सबै जनतालाई समान रुपमा हेरिने बताएका हुन् ।
‘राप्तीमा हाल बेथिति बढ्दै गएकोले सो तोड्नको लागि गठबन्धन बनेको हो’ लामाले भने, ‘हामी कतै अलमलिनु र रुमलिनु पर्दैन, हामी एक ढिक्का छौ र चुनाव जित्छौँ ।’ राप्ती नगरपालिकाको जनताको साझा समस्यालाई समाधान गर्न गठबन्धनको जिम्मेवारी भएको उनको भनाइ थियो ।
युवाले नै देशको भविष्य निर्धारण गर्ने, भविष्यका कर्णधार मात्र नभएर वर्तमान अवस्थामा सबै युवाहरुलाई हिस्सेदार हुनु पर्ने समय आएको उनले जिकिर गरे ।
‘२०७४ सालमा निर्वाचित भएका धेरैजसो जनप्रतिनिधिहरुसँग जनता खुशी छैन’, उनले भने, ‘जनताको भावना, सम्बोधन र समन्वयको हिसाब किताब हुन्छ ।’ केही जनप्रतिनिधिहरु दलको रुपमा लागि व्यक्तिवादी बनेको उनले भने ।
राप्ती नगरपालिकाबाट धेरैलाई जिताएर जनप्रतिनिधिहरु पठाए पनि जनताको भावना अनुरुप काम नगरेकोले आजको यो गठबन्धनको आवश्यकता रहेको लामाले औंल्याए । ‘कसम खुवाएर उनीहरुलाई जिताएका थियौं’ उनले भने, ‘परिणाम फरक आएकोले गठबन्धन जन्मेको हो ।’ उनीहरुको विकृतिलाई चिर्नु नै गठबन्धनको मुख्य उद्देश्य भएको बताए ।
उनले सोही अवसरमा बैशाख ३० गते गठबन्धनका सबै उमेदवारलाई भोट दिन समेत आग्रह गरे । गठबन्धनले पनि आफ्नो भूमिका निर्वाह गर्न, सबै जनसमुदायलाई गठबन्धनको उमेदवारलाई जिताउन उनले जोड दिएका थिए । उनले निर्वाचित भएपछि सबै जनसमुदायको समस्या समाधान गर्ने वाचा र प्रतिबद्धता समेत व्यक्त गरे ।
यसैबीच बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनले राप्ती नगरपालिकामा घरदैलो चुनाव प्रचारप्रसारलाई तिब्रता दिएको छ । चुनाव प्रचारप्रसारमा नेपाली कांग्रेस, समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका उमेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्र पारेका छन् ।
कार्यक्रममा राप्ती नगरपालिका उपमेयर पदका उमेदवार तथा नेपाली कांग्रेस राप्तीका अध्यक्ष देवेन्द्र लामा, नेकपा माओवादी केन्द्र राप्तीका वडा नं. ३ का वडाअध्यक्ष पदका उमेदवार नवराज पाठक लगायतले मन्तव्य दिएका थिए ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -