चितवन / तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले राप्ती नगरपालिका नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । स्थानीय तह निर्वाचन २०७९ मा नवनिर्वाचित मेयर शमशेर लामा तथा उपमेयर देवेन लामालाई बिहीबार राप्तीनगरपालिकाको उहाँहरुकै कार्य कक्षमा बधाई तथा सम्मान गरिएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
मेयर लामा र उपमेयर लामाले संघद्वारा गरिएको बधाई तथा सम्मानप्रति गौरवान्वित भएको बताए । लामाद्वयले हर्षित हुँदै संघको सम्मानलाई धन्यवाद दिए ।
उनीहरुले सम्पूर्ण तामाङ सामुदायको साथ र सहयोगले स्थानीय तह निर्वाचनमा विजयी हुन सफल भएको जिकिर गरे । पाँच वर्षीय कार्यकालमा तामाङ लगायत राप्ती नगरपालिकाका हरेक नागरिकले पाउने अधिकार सुनिश्चितताका लागि जोड दिने बताए ।
- ADVERTISEMENT -

संविधानले निर्धारित गरेको अधिकार सुनिश्चितताको सदैव साथ सहयोग रहने लामाद्वयले प्रतिबद्धता व्यक्त गरे । मेयर लामा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् भने उपमेयर लामा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनीहरु दुबै पाँच दलिय सत्ता गठबन्धनबाट चुनावमा प्रतिस्पर्धी थिए ।
संघका अध्यक्ष तामाङले निर्वाचित मेयर तथा उपमेयर लामाद्वयलाई पाँच वर्षे सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले स्थानीय तहको नेतृत्वमा तामाङ समुदायको छोरो आउँदा आफूलाई धेरै खुशी लागेको बताए ।
उनले नेतृत्वमा तामाङ समुदायकै जनप्रतिनिधि आउँदै गर्दा समुदायलाई फाइदा पुग्ने जिकिर गरे । तामाङ समुदायलाई आफ्नै मान्छे नेतृत्वमा भएपछि निर्धक्क आफ्नो समस्यालाई राख्न सकिने र काम गर्न सहज हुने उनको भनाइ थियो ।
कार्यक्रममा संघका सचिव प्रकाश तामाङ, सहसचिव सन्तोष तामाङ, सदस्यहरु सुरेश तामाङ, युवक तामाङ, सीमा तामाङ र शुभेच्छुक विकास तामाङ, विशाल मगरलगायतको उपस्थिति रहेको थियो ।
यसअघि संघले तामाङ समुदायका विभिन्न नेतृत्व तहका व्यक्तित्वहरुलाई बधाई तथा सम्मान गर्दै आएको छ । वि.सं. २०७० सालमा स्थापित संघमा २७ जना सदस्यहरु रहेका छन् ।