चितवन / लोक तथा दोहोरी गायक मिलन लामा मंसिर ४ गते प्रतिनिधि सभा सदस्य पदका लागि क्षेत्र नं १ बाट उमेदवारी दिएका छन् । करिब दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील लोक तथा दोहोरी गायक लामा ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह लिएर चितवन क्षेत्र नं १ बाट उमेदवारी दिएका हुन् ।
नेपाली लोक तथा दोहोरी गीत–संगीतको क्षेत्रमा राम्रै ख्याति कमाएका गायक एवं सर्जक लामा करिब डेढ दशकदेखि सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । सामाजिक काममा लाग्दै गर्दा व्यक्तिगतरुपमा लाग्नुभन्दा राज्यकै संयन्त्रमा बसेर काम गर्दा बढी प्रभावकारी हुने देखेपछि यसपटक प्रतिनिधिसभामा जाने चाहना बढेको उनी बताउँछन् ।
‘गीत–संगीतले रमाइलो दिलाएको छ । तर, रमाइलोले मात्रै जनताको आवश्यकता पूरा हुँदोरहेनछ’, उनी भन्छन्, ‘सानैदेखि सामाजिक क्षेत्रमा पनि काम गर्ने चाहना भएकोले आज संसद्मा प्रवेश गर्ने बाटो रोजेको हुँ ।’ सानैदेखि सामाजिक चिन्तन भएकोले सबैभन्दा ठूलो सामाजिक संस्था राज्य संयन्त्रमा रहेर काम गर्न चाहेको उनको भनाइ छ । ‘व्यक्तिगतरुपमा एक्लाएक्लै लाग्नुभन्दा सरकारमा गएपछि जनताको दुःख र समस्या समाधान गर्न सकिन्छ कि भनेर चुनावी प्रतिस्पर्धामा जाने बाटो रोजेको हुँ’, उनी भन्छन् ।
निर्वाचनका बेला सबै उमेदवारको हैसियत एउटै हुने भएकोले आफूले कुनै पनि उमेदवारलाई ठूलो र सानो दृष्टिकोणले नहेरेको उनले प्रतिक्रिया दिए । ‘निर्वाचनका बेला सबैको हैसियत भीखमंगा नै हो’, उनी भन्छन्, ‘त्यसैले हामी सबैको हैसियत समान हो । किनकि जुनसुकै उमेदवारले पनि जनताले दिए जित्ने हो, नदिए हार्ने हो ।’ सामाजिक क्षेत्रमा काम गर्दा सबैसँग सहयोग लिनुपर्ने आवश्यकता पर्ने र त्यसरी सधैँ सामाजिक काम गर्न सहज नहुने भएपछि सरकारी संयन्त्रमै सामेल भएर काम गर्ने योजना बनेको उनको भनाइ छ ।
‘तर, यो निर्वाचनमा म कसैलाई हराउन, दबाउन र सघाउन उठेको होइन’, उनी भन्छन्, ‘म स्वतन्त्र तरिकाले चुनावमा होमिएको हुँ ।’ आफूले अहिलेसम्म कुनै पनि दलको समर्थन र विरोधमा नलागेको उनले स्पष्ट पारे । ‘त्यतिमात्र होइन, मैले अहिलेसम्म कुनै पनि दलको सदस्यता लिएको छैन । र, आउँदा दिनमा पनि लिने छैन’, उनले भने, ‘किनकि म हिजो पनि जनताको गायक, सर्जक थिएँ । आज पनि जनताकै उमेदवार बन्न चाहन्छु ।’
उनले चितवनमा करिब दुई दर्जन घर बनाइदिएका छन् । भूकम्प र बाढीपहिरोका कारण घरबारविहीन भएका विपन्न परिवारलाई घर बनाउने अभियान अझै पनि जारी रहेको उनले बताए । भुइँमान्छेका हकअधिकारका लागि आफू एक्लै लाग्नुभन्दा राज्य संयन्त्रमा पुगेपछि त्यसबारे अरुलाई पनि बुझाउन पाइन्छ भन्ने अपेक्षाका साथ निर्वाचनमा होमिएको उनले बताए ।
पहिलो एल्बम ‘कृष्णभीरमा जाम’बाटै चर्चा कमाएका गायक तथा सर्जक लामाको त्यसयता ‘हङ्कङ आइडीले’, ‘माझी दाइ’, ‘झल्को लाली ओठको’ हुँदै ‘लालुपाते’, ‘गाईलाई दाम्लो माछीलाई फुर्लुङ’लगायत दर्जन बढी चर्चित गीत छन् । ‘मिलन’ नामक लोकआधुनिक एल्बमसमेत निकालेका लामाको केही समयअघि मात्रै ‘डण्डा कावासोती’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको छ ।
- ADVERTISEMENT -


















































