२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

उद्योगी–व्यवसायी भन्छन् : ‘देशको अर्थतन्त्र संकट उन्मुख’

प्रकाशित मिति : २०७९ पुष २ गते
- ADVERTISEMENT -

चितवन / उद्योगी तथा व्यवसायीहरूले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भएको बताएका छन् । उद्योग वाणिज्य संघको ५६औँ वार्षिक साधारणसभामा उद्योगी, व्यवसायीले राज्य संयन्त्रले निजी क्षेत्रलाई संरक्षण गर्न नसक्दा देशको अर्थतन्त्र खस्कदो अवस्थामा पुगेको जिकिर गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले देशको अर्थतन्त्र खस्किँदा निजी क्षेत्रमा लगानी गर्न चाहनेहरू डराउनु पर्ने अवस्था आएको बताए । विशेषगरी साना तथा मझौला उद्योगी व्यवसायी सबैभन्दा मर्कामा परेको उनको भनाइ थियो ।
उनले सरकारबाट राष्ट्र बैंकलाई गरेको जस्तो संरक्षण निजी क्षेत्रलाई पनि गर्नुपर्ने धारणा राखे । बैंक र बैंकर्सलाई मात्रै संरक्षण गर्दा देशको उत्पादनमा ह्रास भएको बताए । उनले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाए देशको अर्थतन्त्रमा सुधार हुने बताए । राज्यकै संरक्षण नपाएपछि निजी क्षेत्रका लगानीकर्ता असुरक्षित भएको उनको भने ।
महासंघका कार्यकारिणी सदस्य एवम् उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले निजी क्षेत्रमाथि लगाइएको चर्को ब्याजले निजी क्षेत्रमा धरासायी भएको बताए । बैंकले लागू गरेको चर्को ब्याजदरकै कारण आज उद्योगी, व्यवसायी आत्महत्यासम्मको बाटो रोजेको प्रष्ट पार्दै राज्यले बुझिदिनुपर्नेमा उनको जोड थियो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले निजी क्षेत्रको लागि सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए । उनले देश विकासमा निजी क्षेत्रको भूमिका सबैभन्दा बलियो हुने जिकिर गरेका थिए । अहिले राज्यले ध्यान नदिँदा देशमा सञ्चालित करिब ४० देखि ४५ प्रतिशत उद्योगधन्दा बन्द भइसकेको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले निजी क्षेत्रको विकासका लागि तीनै तहको सरकारको भूमिका अहम हुने बताए । उनले निजी क्षेत्रलाई कमजोर पार्ने काम तीनै तहको सरकारबाट भएको बताए ।
भरतपुर महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले भने निजी क्षेत्रको हितकै लागि करको दरभन्दा पनि दायरा फारकिलो बनाएर काम गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् । उनले महानगरबाट करको दायरा फराकिलो बनाउँदै लगेको जिकिर गरे ।
वार्षिक साधारणसभाको अवसरमा फेन्सी व्यवासयी संघ चितवनलाई सम्मानित गरिएको छ । यसवर्षको उत्कृष्ट वस्तुगत संघ भनेर फेन्सी व्यवसायी संघलाई सम्मान गरेको हो । संस्थाको सदस्य संख्या, भौतिक पूर्वाधार विकास, संघमा आवद्धता तथा कार्यक्रममा देखाएको सहभागीता, सामाजिक उत्तरदायित्व, आर्थिक स्रोत परिचालन, सचिवालय व्यवस्थापनलगायतको मूल्यांकनको आधारमा फेन्सी व्यवसायी संघलाई सम्मान गरिएको हो । उद्योग वाणिज्य संघमा हाल ३५ वटा वस्तुगत संघ आवद्ध छन् ।
यसैबीच उद्योग वाणिज्य संघ चितवनले पहिलोपटक मोवाइल एपमार्फत सार्वजनिक गरेको छ । उद्योग वाणिज्य संघको ‘सिसिआइसी एप’ सार्वजनिक गरिएको हो ।
यस्तैगरी संघले साधारणसभाको अवसरमा विगतका वर्षजस्तै यसवर्ष पनि ‘उद्योग वाणिज्य सन्देश’ नामक विशेष बुलेटिन–२०६९ सार्वजनिक गरेको छ । संस्थाले गरेको हरेक गतिविधिलाई संस्थाका सदस्यसम्म पु¥याउने लक्ष्यसहित बुलेटिन प्रकाशन गरिएको बुलेटिन प्रकाशन समितिका संयोजक विज्ञानलाल श्रेष्ठले जानकारी दिए । उक्त बुलेटिन सोमबार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको हो ।
चितवन महोत्सवको तयारी
उद्योग वाणिज्य संघ चितवनले हरेक दुई÷दुई वर्षमा हुने चितवन महोत्सवको १४औँ संस्करणको तयारी थालेको छ । आउँदो पुस ५ गतेदेखि माघ ४ गतेसम्म हुने महोत्सवको आन्तरिक तयारी चलिरहेको संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए । प्रदर्शनी मैदान नारायणी नदी किनारमा हुने महोत्सवको लागि मैदान सम्याउनेलगायतका बाहिरी कामसमेत भइरहेको उनले बताए । चितवनको गरिमा र गौरवको आयोजना मानिँदै आएको महोत्सवबाट यसपटक पनि कृषि र पर्यटनले प्राथमिकता पाउने अध्यक्ष श्रेष्ठले बताए ।

- ADVERTISEMENT -