चितवन / कोभिड–१९ महामारीपछि आयुर्वेद तर्फको उपचारको आकर्षण बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यसको माताहतको कार्यालय मार्फत् गत आर्थिक वर्ष २०७७/०७८ मा ५६ हजार १२३ जनाले सेवा लिएका छन् ।
सेवा लिने मध्ये बहिरंग सेवा ९ हजार २९९ जना, योग सेवा २ हजार ८४३ जना, पूर्व कर्म/पञ्चकर्म सेवा २ हजार ७९४ जना, जेष्ठ नागरिक सेवा एक हजार जना, स्तनपायी आमा तथा शिशु सेवा १८९ जना, नागरिक आरोग्य स्वास्थ्य सेवा ११ हजार ४४ जा, अन्य सेवा ८१३ जनाले लिएका छन् ।
यस्तै औषधालय सेवा २९ हजार ८२३ जनाले लिएका छन् । आर्थिक वर्ष ०७६/०७७ मा ८ हजार ७१२ जनाले सेवा लिएका थिए भने आर्थिक वर्ष ०७७/०७८ मा १२ हजार ६६५ जनाले सेवा लिएको केन्द्रले जनाएको छ ।
कार्यालयका प्रमुख डा. कोपिला अधिकारीका अनुसार कोभिड महामारीमा धेरैले आयुर्वेदिक औषधि प्रयोग गरेसँग सेवा लिनेको संख्या बढ्दै गएको हो । अधिकारीले भनिन्, ‘पहिले अन्यत्र निको नभएपछि आयुर्वेदबाट उपचार गराउन आउने धेरै हुन्थे, पछिल्लो समय प्रथम उपचार गर्न नै आउने बढेका छन् ।’ सेवाग्राही बढेसँगै केन्द्रले सेवालाई विस्तार गर्दै लगेको छ ।
अधिकारीका अनुसार केन्द्रबाट २३ वटा औषधि निःशुल्क रुपमा दिने गरिएको छ भने अन्य आवश्यक औषधिहरु सशुल्क किन्न सकिने गरी फार्मेसी सञ्चालन गरिएको छ । यसैगरी प्रयोगशाला, भिडियो एक्सरे लगायतका सुविधा सञ्चालन गरिएको छ ।
केन्द्रमा प्रत्येक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योग समेत सञ्चालन हुँदै आएको छ । प्रत्येक मंगलबार रगत परीक्षण सहित निःशुल्क मधुमेह क्लिनिक र मधुमेह, उच्च रक्तचाप तौल जाँच एवं परामर्श सेवा सञ्चालन हुँदै आएको छ ।
केन्द्र परिसरमै ५० शैयाको अस्पताल निर्माणको प्रक्रिया शुरु भएको छ । यसैगरी प्रादेशिक औषधि उत्पादन केन्द्रको भवन निर्माणको काम सम्पन्न भएर उपकरण खरिद र औषधि उत्पादनको प्रकृया अघि बढेको उनले बताइन् ।
आयुर्वेद औषधि उत्पादन केन्द्रका निर्देशक डा. सुरेश महर्जनले १३३ वटा जडिबुटीबाट ३६ प्रकारका औषधि र तेल उत्पादन गर्ने तयारी गरिएको बताए । उनका अनुसार स्वदेशी जटिबुटीको प्रयोग गरी औषधि तयार गरिने छ । त्यसमध्ये पनि ८० प्रतिशत स्थानीय जडिबुटी हुनेछन् ।
अमला, हर्राे, बर्राे, बेसार, अदुवा लगायतका ८० प्रतिशत जडिबुटी स्थानीय रुपमा नै उपलब्ध हुने उनको भनाई छ । उनका अनुसार क्रमशः औषधिको संख्या बढाईदै लगिने छ । उपकरण खरिदका लागि रु २ करोड र कच्चा पदार्थ खरिदका लागि रु ६० लाख बजेट विनियोजन भईसकेको उनले जानकारी दिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. १ का अध्यक्ष कुलप्रसाद सापकोटाले केन्द्रको विस्तारका लागि विद्यालयसँग समन्वय गरेर थप जमिनको व्यवस्था गरिएको बताए । उनले रत्ननगरलाई आयुर्वेदिक उपचारको हब बनाउन नगरपालिका लागिपरेको भन्दै आयुर्वेद विद्यालय सञ्चालनका लागि छलफल भईरहेको बताए ।
केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले रोगी बन्न नदिने योगदेखि उपचारसम्मको सेवाको महत्व बुझाउन सबै लाग्नुपर्ने बताए । उनले केन्द्रको सेवालाई अझै चुस्तदुरुस्त बनाउन आफू लागिपर्ने भन्दै सबैको सहयोगको अपेक्षा गरेका छन् ।

















































