२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

माघे संक्रान्तिका लागि नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला

प्रकाशित मिति : २०७९ पुष २४ गते
File Photo
- ADVERTISEMENT -

चितवन / नारायणगढ मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला हुने भएको छ । पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी दुई दिन खुला हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको हो । उक्त सडकखण्डमा दिउँसोको चार घण्टा (बिहान ११ देखि दिउँसो ३ बजेसम्म) सडक रोकेर गरिँदै आएकोमा दुई दिन भने काम स्थगन गरिने भएको हो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ । गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उनले बताए । देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन आउने गर्दछन् ।
देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ । वेणीमा वारपार गर्न २२ वटा ¥याफ्टिङको व्यवस्था गरिएको छ । दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ ।
समितिले एक सय ५१ सदस्यीय मूल समिति र उपसमिति निर्माण गरेर काम गरिरहेको छ । मुख्यरूपमा स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ । विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन् ।
सवारीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ । देवघाट जानेहरूलाई रामनगर हँुदै जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ । दासढुङ्गाको पुलतर्फबाट भने जाने आउने दुवै सुविधा रहने छ ।
पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ । मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

- ADVERTISEMENT -