अस्वस्थ प्रतिस्पर्धालाई निकास दिने
चितवन । मुद्रण संघ चितवनमा सन्दिप सुवेदी निर्वाचित भएका छन् । संघको २१औं साधारण सभा तथा १४औं अधिवेशनबाट सुवेदी शनिबार सर्वसम्मत निर्विरोध अध्यक्ष पदमा चयन भएका हुन् । सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको छ ।
अधिवेशनबाट उपाध्यक्ष पदमा रविन मिश्र, सचिव पदमा उत्तम अर्याल, सहसचिव पदमा सरोजबाबु घिमिरे, कोषाध्यक्ष पदमा राजाराम त्रिपाठी र सहकोषाध्यक्ष पदमा सुजन अर्याल चयन भएका हुन् ।
यस्तैगरी सदस्यहरुमा पुरन थापा मगर, डिलाराम ढकाल, भविश्वर पाण्डे, महेन्द्र अधिकारी र शिवराज सुबेदी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सुवेदीले मुद्रण सम्बन्धी व्यवसायमा भएका चर्को अस्वस्थ प्रतिस्पर्धालाई उचित मूल्य निर्धारण गरी कार्यान्वयनमा ल्याउने बताए । गैह्र सदस्यहरुलाई पनि संघमा आवद्ध गरी मूल्यमा एकरुपता ल्याउने उनको भनाइ छ । सुवेदी सिद्ध बाबा अफसेट प्रेसका संचालक हुन् भने उनी दशकदेखि मुद्रण पेसामा आवद्ध छन् ।
पछिल्लो समय चितवनमा छपाई सम्बन्धी मूल्यसूची कायम गरेको भएतापनि कार्यान्वयनमा नआएको पाइएको छ । अस्वस्थ प्रतिस्पर्धाले मुद्रण पेसा नै संकट पर्ने स्थिति आउने देखिएको मुद्रण सम्बद्ध व्यवसायी बताउँछन् ।
वि.सं. २०४४ सालमा स्थापना भएको संघमा हाल ८० जना मुद्रण व्यवसायीहरु आवद्ध रहेका छन् । १०६ जना मुद्रण व्यवसायी चितवनमा रहेता पनि २६ जना संघमा दर्ता हुने प्रक्रियामा रहेको नवनिर्वाचित कोषाध्यक्ष राजाराम त्रिपाठीले जानकारी दिए ।
कार्यक्रम मुद्रण संघ चितवनका अध्यक्ष उपकार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -










































