२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

भरतपुर–१ को सार्वजनिक सुनुवाईमा कार्ययोजनाको समीक्षा

प्रकाशित मिति : २०८० श्रावण ७ गते
प्रगति विवरण प्रस्तुत गर्दै वडाध्यक्ष केशव महर्जन । फोटो : न्यूजप्रवाह ।
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका वडा नं. १ ले आव २०७९/०८० को सम्पन्न कार्ययोजनाको समीक्षा गरेको छ । शनिबार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत् आव २०७९/०८० को कार्ययोजनाको समीक्षा गरेको हो ।
गत आर्थिक वर्षमा वडा कार्यालयबाट सम्पादन भएका सेवा प्रवाह, योजनाको विषयमा वडावासीमा पारदर्शी गर्ने उद्देश्यले पहिलो पटक उक्त कार्यक्रम गरिएको वडाअध्यक्ष केशव महर्जनले जानकारी गराए ।
कार्यक्रममा वडाअध्यक्ष महर्जनले गत आवको प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रगति विवरणमा वर्षभरिका कार्ययोजनाको बारेमा उल्लेख गरिएको थियो । उनले कार्यक्रममा उठेका सवाललाई जवाफ दिँदै आगामी दिनमा सबै टोलवासी तथा स्थानीयहरुको सल्लाह सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।


कार्यक्रममा पूर्वमन्त्री भीमबहादुर श्रेष्ठले हामीले तिरेको कर हामीलाई प्रयोग नभएकोले स्वमूल्याकंन जरुरी भएको बताए । नारायणगढ बजारबाट सोझै नारायणी नदीमा विसर्जन हुने फोहोर नालीको व्यवस्थापनमा चासो दिनुपर्ने उनको सुझाव थियो ।
उनले बजेटलाई समग्र वडा विकास र समाजमुखी प्रयोगमा ल्याउन सकारात्मक भूमिका खेल्नु पर्ने बताए । समग्र वडाहरुको उस्तै हालत भएको बताउँदै राष्ट्र निर्माणमा बजेटको प्रयोग नभएको उनको भनाइ थियो ।
रामनगरका स्थानीय कमलकुमार श्रेष्ठले रामनगरमा फोहोर मैलाको समस्या विकराल रहेको बताए । उक्त क्षेत्रमा विद्युतका पोलहरु लडेको अवस्थामा अझै पनि रहेको उनले गुनासो गरे ।
उनले वडामा सेवाग्राहीलाई सेवा प्रवाह सर्वसुलभ हुन नसकेको समेत आरोप लगाए । वडाबाट प्राप्त हुने सेवा सुविधा चुस्तदुरुस्त राख्न उनले आग्रह गरे ।
नारायणगढदेखि पोखरा बसपार्कसम्म पसलेले पेटिमा बेच्न राखिएका सामग्रीले बटुवालाई हिँड्न बाधा पुगेकोले तत्काल हटाउनु उनको माग थियो ।
वडाअध्यक्ष महर्जनका अनुसार बजेट २ करोड ६५ लाख बराबरको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रतिनिधि झलककुमार श्रेष्ठ, विभिन्न टोल सुधार समितिका वडाअध्यक्ष, स्थानीयलगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -