२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

धादिङ बस दुर्घटनामा परेका ४ जनाको सनाखत

प्रकाशित मिति : २०८० भाद्र ६ गते
- ADVERTISEMENT -

मकवानपुर / धादिङ गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्बी लोकमार्गमा बुधवार बिहान भएको बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको छ ।

काठमाडौंबाट बेनी जान लागेको म्याग्दी कोरला यातायात प्रालि नामको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदिमा खसेर दुर्घटना हुँदा मृत्यु भएका ८ जनामध्ये ४ जनाको सनाखत भएको गृह मन्त्रालयले जनाएको छ ।

सनाखत हुनेहरुमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने वर्ष ५० को थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ बस्ने वर्ष १५ कि कृतिका शर्मा पौडेल, धादिङ गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय सविन रम्तेल र कास्की फूलबारी –११ बस्ने २५ वर्षीय सुमन थापा रहेका छन् ।

बाँकी ४ जनाको पनि सनाखत गर्ने कार्य भइरहेको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले दिए ।उनका अनसार, बसमा २५ जना सवार थिए । तीमध्ये ८ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये प्रारम्भिक उपचारपछि पर्वत मोदीका ४१ वर्षीय गुरुदत्त शर्मा पौडेललाई काठमाडौं रेफर गरिएको छ । मध्यम स्वास्थ्य अवस्था रहेको उनको टाउको र निधारमा चोट लागेको छ ।

त्यसैगरी, प्राथमिक उपचार केन्द्र गजुरीमा उपचार गरेपछि बस चालक म्याग्दी बेनी नगरपालिकाका दिपक थापा, म्याग्दी बेनीकै पूर्ण छन्त्याल, कुशल अधिकारीलाई पनि काठमाडौं रेफर गरिएको छ ।

नाम नखुलेको अन्दाजी ४० वर्षकी महिलाको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेकाले काठमाडौं रेफर गरिएको गिरीले जानकारी दिए । अवस्था गम्भीर रहेका अन्य दुई जना पुरुषलाई पनि काठमाडौं रेफर गरिएको छ ।

मन्त्रालयका अनुसार गजुरी अस्पतालमा प्रारम्भिक उपचारपछि घाइते काठमाडौं कीर्तिपुर नगरपालिका–९ बस्ने ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दी मंगला गाउँपालिका–२ कि गीता जंजाली मगर, बागलुङकी सुष्मा क्षेत्री, पर्वत फलेवासकी हरिकला गौडेल, म्याग्दी अन्नपूर्णकी अन्जु रानामगर, म्याग्दी गरुङ्गंगाका प्रविन पुन, बङ्गलादेशी नागरिक मोहमद हजिरहुल, म्याग्दी रघुगंगाकी रिना रानामगर, बागलुङ गलकोटका ज्ञानु बुढामगरलाई काठमाडौं रेफर गरिएको छ ।

उद्धार टोलीले बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका– ६ बस्ने रोशन तामाङलाई सकुशल उद्धार गरी नियन्त्रणमा लिएको र घटनाको बारेमा आवश्यक अनुसनधान गरिरहेको जनाइएको छ ।

- ADVERTISEMENT -