पूर्णिमायाले गरिन् सिडिओको ध्यानाकर्षण
–बबिलाल तामाङ
भरतपुर । सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत छवि धमिल्याउने काम गरेको भन्दै चितवनकी पूर्णिमाया गुरूङले पूर्वसचिव भीम उपाध्यायलाई तत्काल नियन्त्रणमा लिएर कानुनी उपचार गराउन चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को ध्यानाकर्षण गराएकी छन् । सोमबार तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनको आडमा पीडित पूर्णिमाया प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासमक्ष पुगेकी हुन् ।
धरानमा गोरु खाएको विषयले सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने गतिविधि भइरहँदा नेपाल सरकारको पूर्वसचिव जस्तो व्यक्तिबाट साढे दुई वर्ष पुरानो टिकटक भिडियोको ‘स्कृन सर्ट’ गरी आफूलाई विवादित बनाउनुका साथै व्यक्तिगत चरित्र हत्या गरेको भन्दै भरतपुर–१६ शरणपुरकी पूर्णिमायाले कानुनी उपचार खोजेकी हुन् । उनले गत बिहीबार नै चितवन प्रहरीमा उजुरी दिइसकेकी छन् ।
- ADVERTISEMENT -

उक्त घटनालाई सामान्य–रूपमा नलिइदिन प्रमुख जिल्ला अधिकारीलाई सोमबार ध्याना–कर्षणपत्र बुझाएकी हुन् । भीम उपाध्यायले सामाजिक सञ्जालमार्फत माफी मागे पनि कानुनअनुसारको सजाय नदिलाई माफी दिन नसकिने पूर्णिमायाको भनाइ छ । पटकपटक उक्त तस्बिर हटाउन आग्रह गर्दा पनि अटेर गरेर एक हप्तासम्म व्यक्तिगत मानहानि गरेको भन्दै पूर्णिमाया सोमबार जिल्ला प्रशासन कार्यालय पुगेकी हुन् ।
२०७८ फागुन ९ गते साँझ सामाजिक सञ्जाल टिकटकमा राखेको भिडियोलाई तस्बिर बनाएर पूर्वसचिव उपाध्यायले ‘गोरु खाने धराने’ भनेर फेसबुकमा प्रचार गरिदिएपछि पूर्णिमाया विवादमा तानिएकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत गाली व्यइजति सहन बाध्य भएकी थिइन् । उपाय नलागेपछि प्रहरीमा उजुरी दिएर चितवनका सञ्चारमाध्यममार्फत तस्बिरको वास्तविकता बताएपछि अहिले भीम उपाध्यायले फेसबुकबाट उक्त पोष्ट हटाइसकेका छन् । त्यसपछि पूर्णिमाया गुरूङसँग कुरा भएर क्षमा याचना भइसकेको दाबी गर्दै आएका छन् ।
- ADVERTISEMENT -

तर, उपाध्यायले फोन गरेर माफी मागे पनि आफूले माफी नदिएको पूर्णिमायाले बताएकी छन् । आफू कानुनी बाटोमा अगाडि बढिसकेको हुँदा फोन गरेको भरमा माफी दिन नसकिने उनले बताइन् । ‘त्यत्रो दिनसम्म मेरो व्यइजत गरेर एक कल फोन गरेकै भरमा मैले कसरी माफी दिन सक्छु,’ पूर्णिमायाले प्रश्न गरिन्, ‘त्यसैले मैले माफी दिएकी छैन । भीम उपाध्यायले फेसबुकमा जे लेखे पनि टेलिभिजनमा दिएका अन्तर्वाताहरूमा जे बोले पनि मैले माफी दिएकी छैन । म कानुनी उपचारमा छु ।’
उक्त घटनालाई जाति र धर्मसँग नजोडिदिन पनि पूर्णिमायाले आग्रह गरेकी छन् । ‘मेरो लडाइँ भीम उपाध्यायसँग हो । कुनै जाति, सम्प्रदाय र धर्मसँग होइन,’ उनले भनिन् ।
प्रमुख जिल्ला अधिकारी थापाले घटनाबारे आफ्नो ध्यानाकर्षण भइसकेको बताउँदै कानुनअनुसारको कारवाही प्रकृया अगाडि बढ्ने आश्वासन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन तमू ह्युल छोँज धीँका केन्द्रीय सचिव सन्तलाल गुरूङसहित केन्द्रदेखि जिल्ला हुँदै इकाइसम्म र तमू प्ये ल्हु संघको पनि केन्द्रदेखि जिल्ला हुँदै इकाइसम्मका पदाधिकारी एवम् प्रतिनिधिहरूको उपस्थिति थियो ।













































