April 22, 2025

गैँडाकोटका दुई मेडिकल मापदण्ड विपरीत संचालनमा

September 13, 2023
- ADVERTISEMENT -

गैँडाकोट / स्वास्थ्य क्षेत्र अति संवेदनशील मानिन्छ । त्यही क्षेत्रमा लापरवाही भएमा स्वास्थ्योपचारले गम्भीर रुप लिन सक्छ । लापरवाही तथा मापदण्ड पूरा गरी संचालन गरेका स्वास्थ्यसँग सम्बन्धित क्षेत्रलाई नियन्त्रणका लागि बेलाबेलामा स्थानीय पालिका, प्रशासनलगायतले अनुगमन गर्दै आएको छ ।
यसैबिच गैंडाकोट नगरपालिकामा दुई वटा स्वास्थ्य संस्था मापदण्ड पूरा नगरी संचालन गरी पाइएको छ । अनुगमनका क्रममा मंगलबार दुई वटा स्वास्थ्य संस्था मापदण्ड पूरा नगरी संचालन गरेको पाइएको नगर गैंडाकोट नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरालाले जानकारी दिए ।
संयोजक कोइरालाका अनुसार मापदण्ड पूरा नगरी संचालनमा रहेका बलेवा मेडिकल हल गैँडाकोट २ कालिगण्डकी चोकमा दर्ता नगरी सञ्चालन गरेको पाइएको हो । मापदण्ड विपरित सञ्चालनमा रहेको उक्त मेडिकलका संचालकलाई एक हप्ताको अल्टिमेटम दिइएको उनले बताए ।
त्यस्तै गैँडाकोट १ मा मौलाकालिका मेडिकल हल दर्ता नगरी सञ्चालन गरेको पाइएको छ भने मेडिकल हल सञ्चालन गर्दा आवश्यक पर्ने कागजात समेत नभएकोले तत्कालको लागि मेडिकल हल बन्द गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
कोइरालाले अनुगमनका क्रममा त्रुटि भेटिएका ती दुई स्वास्थ्य संस्थालाई सचेत गराउँदै मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिएका छन् । पर्याप्त सरसफाइ नगरेको, स्वास्थ्य सेवा दिँदा पालना गर्नुपर्ने मापदण्डहरु समेत पालना नगरेको भेटिएको र मूल्यसूची राख्न एवं मापदण्ड पूरा गरी सञ्चालन गर्न समेत अनुगमन टोलीले सचेत गराएको छ ।
गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, हेल्थ असिस्टेन्ट माधव आचार्य, आर्थिक विकास शाखा प्रमुख देविन्द्र गौतम, प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लिलाधर शर्मा, नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर ईकाइका अध्यक्ष इश्वरीप्रसाद घिमिरे, गैँडाकोट नगरपालिका वडा नं. १ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी र गैँडाकोट नगरपालिका वडा नं. २ का वडाअध्यक्ष प्रकाश सापकोटा लगायतले अनुगमन गरेका थिए ।
गैँडाकोट नगरपालिकाले वडा नं. १ र २ मा रहेका १० वटा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको थियो । नगरपालिकामा हाल निजी क्षेत्रबाट सञ्चालित ४ दर्जन बढी मेडिकल तथा स्वास्थ्य संस्था रहेका छन् ।

- ADVERTISEMENT -