March 15, 2025
- ADVERTISEMENT -

७८ चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा बन्द

September 15, 2023

मकवानपुर / बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका छन् ।
चिकित्सकका अनुसार आज (शुक्रबार) देखि जिल्लामा आकस्मिकबाहेक सेवा ठप्प पार्ने तयारी छ । बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापा घाइते भएका छन् । बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ । थापा उपचारका लागि काठमाडौं गएका छन् ।
डेंगीका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् । साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्ट चितवन रेफर गरिएको थियो ।
प्रधानलाई दोस्रो पटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापका पनि बिरामी थिए । उनको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा निधन भएको थियो ।
कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रूपमा प्रहरीमा जाहेरी दिएका छन् । स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षा प्रत्याभूति नभएका कारण पीडितबाट मात्रै उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिक रूपमा दर्ता गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

- ADVERTISEMENT -