April 30, 2025

सांस्कृतिक अभियन्ता दोर्जे गोलेको सम्झनामा ङोवा मोलम

September 17, 2023
- ADVERTISEMENT -

काठमाडौं । नेपाल तामाङ संस्कृति घेदुङले पूर्व अध्यक्ष एवं सांस्कृतिक अभियन्ता स्व. दोर्जे गोलेको पहिलो स्मृतिसभा तथा ङोवा मोलम कार्यक्रम गरिएको छ ।
घेदुङको संघीय कार्यालय चुच्चेपाटी, बौद्धमा शनिबार स्मृतिसभाको आयोजना गर्दै तामाङ संस्कृतिमा स्व. गोलेले तामाङ समुदायका लागि पुर्याउनुभएको योगदानको सम्झना गरिएको हो ।
संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले दोर्जे गोले तामाङ समुदायको एक सांस्कृतिक योद्धा रहेको उल्लेख गर्दै स्व. गोलेलाई गुमाउँदा अत्यन्तै पिडाबोध भएको बताए ।
उनले गोलेसँगको सहकार्यलाई अमिट छापको रुपमा सदैव स्मरणमा रहने बताए । अध्यक्ष गोलेले सांस्कृतिक अभियन्ता गोलेको बाँकी सपनाहरु पूरा गर्न तामाङहरु एक हुनुपर्नेमा जोड दिए ।
‘सदियौंदेखि तामाङ समुदायभित्रका दोर्जे गोलेहरुले देखिदै आएको हजारौं सपनाहरु पूरा गर्नका लागि सबै तामाङहरु एकजुट हुन आवश्यक छ ।’ उनले भने— ‘आज पहिचानसहितको हाम्रो अधिकार जोडिएको ताम्सालिङ प्राप्तिका लागि तन, मन, धनकासाथ लागि पर्न उहाँबाट थप प्रेरणा मिल्ने मेरो विश्वास छ ।’
कार्यक्रमका अतिथि नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमार घिसिङले तामाङ समुदायमा दोर्जे गोलेको योगदान अमुल्य रहेको धारणा व्यक्त गरे । उनले आफ्नो सहयोद्धा गुमाउनुपर्दा अत्यन्तै पिडा महसुस भएको बताए ।
कार्यक्रममा नेपाल तामाङ संस्कृति घेदुङका प्रमुख सल्लाहकार प्रेम लो,गोले वंश उत्थान समाजका अध्यक्ष मीन बहादुर गोले,छ्योर्तेन टासी तामाङ गुम्बाका अध्यक्ष हरि लामा लगायतले पनि अभियन्ता गोलेले तामाङ समुदायमा पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए ।
संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामाले तामाङ समुदायले स्व.दोर्जे गोलेबाट धेरै कुरा सिक्न सकिने तर्क गरे । स्व. गोलेले समुदायमा सांस्कृतिक पुर्नजागरणमार्फत सकारात्मक परिवर्तनमा खेलेको भूमिका सम्झना गर्ने क्रममा यस खालको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रमको विशिष्ट अतिथिको रुपमा धर्मगुरु खेन रिम्पोक्षे सोनाम ग्युर्मे वल रहेका थिए भने उनले ङोवा मोलाम गरेका थिए ।
कार्यक्रमका अतिथिहरुमा नेपाल तामाङ घेदुङका उपमहासचिव जगत दोङ, घेदुङका सूचना सञ्चार विभाग प्रमुख तिर्थमान वल, तामाङ रुइवा वंशावली विभाग प्रमुख दिनेश लो लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -