March 15, 2025
- ADVERTISEMENT -

७० लाख बढी विद्यार्थीको पढाइ बन्द

September 21, 2023
काठमाडौंमा आन्दोलनरत देशैभरका शिक्षकहरु ।

काठमाडौँ / शिक्षकहरूको आन्दोलनका कारण आज (बिहीबार) देखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् ।

हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो । आजदेखि अनिश्चितकालसम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन् । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए ।

आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको उनको भनाइ छ । ‘जति कार्यदिन बन्द हुन्छ । त्यति दिन पछि पढाउँछौ । आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन्’ महासचिव सुवेदीले भने । सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए ।

आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या झन बढ्ने महासचिव सुवेदीको भनाइ छ ।

- ADVERTISEMENT -