चितवन / जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को दुई महिना (श्रावण र भदौ) मा चार जनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । तिवारीका अनुसार माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट मृत्यु भएको उनले बताए । मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परी मृत्यु भएको उनले भने । यस्तै रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीले आक्रमण गरी मृत्यु भएको हो ।
सोही समयमा निकुञ्जभित्र चारवटा गैँडा मृत भेटिएका उनले जानकारी दिए । यसमध्ये एउटा चोरी सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणबाट मरेका हुन् । मृत भेटिएका गैँडामध्ये दुईवटा भाले रहेका छन् भने दुईवटाको पहिचान हुन नसकेको उनले बताए । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म निकुञ्जमा २०४ वटा गैँडा मरेका छन् । तीमध्ये १०२ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुनसकेको छैन ।
अहिलेसम्म मरेका गैँडामध्ये बूढो भएर र भिरबाट लडेर ६८ , दलदलमा परेर र बाढीले बगाएर १९ , आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ रहेका छन् । यस्तै सम्भावित चोरी सिकारीले सातवटा, विद्युतीय करेन्ट लागेर सातवटा, बिरामी भएर ११ , खाडलमा परी तीनवटा, विष सेवनबाट पाँचवटा र कारण नखुलेको २८ वटा गैँडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।