April 20, 2025

सडक पेटी मिच्ने पसले र फुटपाथ व्यवसायीलाई चेतावनी [with video]

September 29, 2023
- ADVERTISEMENT -

–बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. १ को कार्यालयले नारायणगढको फुटपाथ व्यवस्थापनमा जोड दिएको छ । टोल विकास संस्थाका प्रतिनिधि तथा जनगुनासो बढेपछि वडा कार्यालयले बिहीबार फुटपाथ व्यवस्थापनका लागि नगर प्रहरीको टोलीसहित जुनहल रोड र गंगोत्री मार्गमा अनुगमन गरेको हो ।

फुटपाथ व्यवसायी सँगसँगै पसलवालाले पेटी नै मिचेर सामान राखी बिक्री गर्ने सबैलाई फुटपाथ व्यवस्थापनमा सहजीकरणका लागि आग्रह गरिएको भरतपुर महानगरपालिका वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले जानकारी दिए ।

‘पैदलयात्रु हिँड्ने सडकको पेटी नै मिचेर फुटपाथ व्यवसाय गर्ने र पसलवालालाई पेटिमा राखिएका सामान हटाउन आग्रह गरेका छौं’ उनले भने, ‘अटेर गरेमा सामान नियन्त्रण लिने र जफत पनि गर्नेछौं ।’ १ नं. वडालाई फुटपाथ व्यवस्थापन गरी शहर सुन्दर बनाउने सँगसँगै दुर्घटना न्यूनीकरण पनि हुने भएकाले अभियान नै थालिएको अध्यक्ष महर्जनको भनाइ छ ।

उनले हाइवेतर्फ सडक मर्मतको कार्य भइरहेकोले अहिले भित्री बाटोमा मात्र फुटपाथ व्यवस्थापनलाई अघि बढाएको बताए । हाइवे सडक मर्मत कार्य पूरा भएपछि सबै ठाउँमा बृहत रुपमा फुटपाथ व्यवस्थापन अभियानलाई अघि बढाउँदै लैजाने उनको भनाइ छ ।

अध्यक्ष महर्जनका अनुसार स्थानीय फुटपाथ व्यवसायीसँगसँगै बाहिरी जिल्लाबाट आउने पनि पाइएको छ । पछिल्लो समय काठमाडौंबाट हटाइएका फुटपाथ व्यवसायीहरुको ओइरो लागेकोले संख्यात्मक रुपमा बढ्दै गएको उनले भने । लायन्सचोकदेखि पुलचोकमा सडक निर्माण कार्य भइरहेकाले पनि भित्री सडकतर्फ फुटपाथ व्यवसायीहरुको ओइरो लागेको अनुमान गरिएको छ ।

भरतपुर महानगरले फुटपाथमा व्यवसाय नगर्न अनुरोध र कारवाही पनि गर्दै आएको छ । धेरै हदसम्म फुटपाथ व्यवसायीहरु पलायन भएको पाइएको छ भने अझै पनि छिटफुट रुपमा नारायणगढ बजारमा छन् । महानगरले फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्न नसक्दा अझै पनि उनीहरु सडकमा व्यवसाय गर्न बाध्य छन् ।

 

- ADVERTISEMENT -