April 26, 2025

विश्व अहिंसा दिवसको सन्दर्भ

October 4, 2023
- ADVERTISEMENT -

अक्टोबर २ अर्थात् विश्व अहिंसा दिवस । अहिंसाका प्रतिमूर्ति भारत स्वतन्त्रतामा योगदान पु¥याएका महान व्यक्तित्व महात्मा गान्धीको जन्मोत्सव । संयुक्त राष्ट्रसंघको महासभाले सन् २००७ मा महात्मा गान्धीको जन्मदिनलाई विश्व अहिंसा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेपछि हरेक वर्ष अक्टोबर २ मा विश्वभर यो दिवस मनाइन्छ । विश्वमा हिंसाका घटनाहरू बढ्दै जान थालेपछि हिंसालाई रोक्ने अभिप्रायसहित यो दिवस मनाउने गरिएको हो । समाजमा हिंसाका अनेक स्वरूप हुने गरेका छन् । समाज जति खुल्ला र विकसित हुँदै गएको छ, हिंसाका रूप त्यसैगरी बदलिँदै गएका छन् । विगतमा शारीरिकरूपमा सीमित हुने गरेको हिंसा प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र मोबाइलबाटसमेत हिंसाका रूप प्रकट हुन थालेका छन् ।

विश्व अहिंसा दिवसका लागि सहमति जनाएका विश्वका १९३ देशले सन् २००८ देखि यो दिवस मनाउँदै आएका छन् । महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउन अहम् भूमिका निर्वाह गरेका थिए । महात्मा गान्धीले जीवनमा कसैमाथि हिंसा गरेनन् तर उनको अन्त्य भने हिंसाबाटै हुन गयो । वास्तवमा अहिलेको अवस्थामा अहिंसाको विषय जटिल बन्न पुगेको छ । मानव हिंसा मात्रै नभई पशुपक्षीसमेतको हिंसाका सन्दर्भमा विष्लेषण गर्दा अहिंसाको व्याख्या गर्न निकै कठिन भएको छ । यद्यपि नेपालको लुम्बिनीमा जन्मिएका शान्तिका अग्रदुत गौतमबुद्धदेखि महात्मा गान्धीका अहिंसात्मक आन्दोलन र पछिल्लो समय संयुक्त राष्ट्र संघद्वारा प्रवद्र्धित अहिंसासम्म आइपुग्दा अहिंसाका आयाममा ठूलो परिवर्तन आएको पाइन्छ । अहिंसा दिवस मनाउनेसम्बन्धी १५ जुन २००७ मा संयुक्त राष्ट्रसंघको महासभाद्वारा पारित संकल्प प्रस्तावमा ‘शिक्षाको माध्यमबाट जनतामा अहिंसाको व्यापक प्रचार गर्नुपर्छ अहिंसाको सिद्धान्त सहिष्णुता तथा शान्तिको माध्यमबाट नै सुरक्षित गर्न सकिन्छ ।’ भनिएको छ ।

वास्तवमा हिंसारहित समाज हुनु भनेकै अहिंसा हो । हरेक समाज हिंसारहित बनाउन सबै नागरिकले भूमिका खेल्नु पर्दछ । शिक्षाको माध्यमबाटै जनतामा सहिष्णुता तथा शान्तिको माध्यमबाट नै सुरक्षित गर्न सकिन्छ । पछिल्लो समय नेपालमा फरक खाले हिंसा हुन थालेको छ । विभिन्न धर्मसंप्रदायका मानिसहरूले सामाजिक सञ्जालमा हिंसात्मक भाव झल्काउने गरेका छन् । समाजलाई हिंसा हुनबाट जोगाउन र त्यस प्रकारको वातावरण सिर्जना गर्न राज्यले सामाजिक सद्भाव कायम राख्ने भूमिका खेल्नु पर्दछ । नेपालकै राजनीतिक परिवर्तनका सन्दर्भमा विभिन्न कालखण्डमा विभिन्न हिंसात्मक घटना भए, त्यसको प्रभावबाट अझै पनि समाज अछूतो छैन । हिंसाबिना पनि परिवर्तन भएका छन्, हुन्छन् । हिंसाले मानव जीवनको मूल्य र सौन्दर्यलाई भत्काउँछ । समाजलार्ई भिन्न–भिन्न पार्छ । र, घरपरिवार विस्थापित बनाइदिन्छ । त्यसैले अहिंसात्मक समाज स्थापनाका लागि राज्यले सामाजिक न्यायको प्रत्याभूति दिलाउन आवश्यक देखिन्छ ।

- ADVERTISEMENT -