काठमाडौं / इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गरेको कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए ।
सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ । सोही आधारमा कोही व्यवसायिक उडानमार्फत आउन खोजेमा त्यसमा लागि लाग्ने हवाई टिकट सरकारले बेहोर्ने भएको हो ।
इजरायल र गाजाबीच गत शनिबार भएको युद्धका कारण १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । त्यस्तै, ४ जना विद्यार्थी घाइते भएका छन् भने एक जना सम्पर्कविहिन छन् ।
बेपत्ताको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ । त्यस्तै, चार जना घाइतेमध्ये २ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने २ जनाको उपचार भइरहेको छ ।
घर फर्किनका लागि २८० भन्दा बढी विद्यार्थीले अनलाइन आवेदन भरेका छन् । उक्त चार्टड विमानमार्फत नेपाली विद्यार्थी ल्याउन लागिएको हो ।