चितवन / एभरेष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडको सम्पत्ति ४० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९÷८० मा संस्थाको जम्मा सम्पत्ति ४० करोड १२ लाख ८० हजार चार सय ८२ रुपैयाँ पुगेको संस्थाका अध्यक्ष बालगोपाल चुकेले बताए ।
२०६४ चैतमा २५ जना शेयर सदस्यले स्थापना गरेको सहकारीमा बुधबार आयोजित १६औँ वार्षिक साधारणसभामा संस्थाको कुल सम्पत्ती जानकारी गराइएको हो । अहिले तीन हजार सात सय ७५ जना शेयर सदस्य पुगेको अध्यक्ष चुकेले जानकारी दिए ।
१२ लाख ५० हजार रुपैयाँ शेयर पुँजीबाट सञ्चालनमा आएको सहकारीको हाल पाँच करोड ४० लाख ३७ हजार सात सय रुपैयाँ शेयर पुँजी पुगेको समेत चुकेले बताए । संस्थाको बचत रकम २५ करोड २७ लाख २१ हजार रुपैयाँ तथा ऋण लगानी ३१ करोड ३३ लाख २८ हजार रहेको भन्दै अध्यक्ष चुकेले जगेडा तथा अन्य कोष पाँच करोड ९७ लाख ४६ हजार रहेको बताए । सहकारीले चार वर्षे रणनीतिक योजना निर्माण गरी व्यवसायिक, सामाजिक र सदस्यमैत्री सेवाको लागि अघि बढेको उनको भनाइ छ ।
सहकारीको सेवालाई सदस्यमुखी बनाइ वित्तीय तथा गैरवित्तीय सेवालाई सदस्यको चाहना अनुरुप स्तरोन्नति र प्राविधिक सेवा थप गर्दै सदस्य केन्द्रित सेवामा संस्था निरन्तर अगाडि बढ्ने योजना रहेको अध्यक्ष चुकेले बताए ।
कोरोनाको प्रभाव सकिए लगत्तै आर्थिक मन्दी र सहकारीमा तरलता संकटका कारण संस्थाको बचत संकलन, संस्थाको ऋण लगानी तथा असुलीमा प्रत्यक्ष प्रभाव परेको उनको भनाइ छ । सो कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीले सदस्यलाई व्यवसायी र उद्यमी बनाउनका लागि ऋण लगानी गर्नुपर्नेमा जोड दिए ।
संस्थाले सामाजिक कामसँगै उत्पादनमा जोड दिनुपर्ने औल्याउँदै उपप्रमुख अधिकारीले उद्योगधन्दा सञ्चालनमा सहकारीले कर्जा प्रवाह गर्नुपर्ने बताए । पछिल्लो समय सहकारीमा विकृति फैलिएको भन्दै उहाँले यसबारे सचेत बन्नुपर्नेमा सहकारीका सदस्यहरुको ध्यानाकर्षण गराए ।
सहकारीमा पैसा जम्मा गर्ने र कर्जा वितरण गर्ने तथा बोनस प्राप्त उद्देश्यले सदस्य बन्ने प्रवृत्ति बढेको भन्दै उहाँले सहकारीका गतिविधिबारे सबै सदस्यहरु जानकार बन्नुपर्ने बताए । संस्थाको गतिविधिबारे शेयर सदस्यले जानकारी नराख्ने भन्दै उपप्रमुख अधिकारीले साधारणसभाका बेलामा बोनस र यातायात खर्चका लागि मात्रै सहभागी हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
सो कार्यक्रममा नेफ्स्कुनका सञ्चालक नवराज सापकोटाले सहकारीका निर्णय र योजना सदस्य केन्द्रित हुनुपर्ने बताए । केही सहकारीमा देखिएका संकटका कारण सहकारी क्षेत्र बद्नाम हुँदै गएका भन्दै सापकोटाले अनुत्पादक क्षेत्रमा ऋण लगानी हुँदा सहकारी डुबेका बताए ।
सहकारीमा जम्मा बचतको ३० प्रतिशत रकम नियमित बचतको हुनुपर्ने भन्दै सापकोटाले सदस्यको हितमा सदस्यको जीवनस्तर परिवर्तनमा सहकारी लाग्नुपर्नेमा जोड दिए ।
नेफ्स्कुन सञ्चालक विद्या कोइरालाले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए । सहकारी संस्थाहरु नीति, विधि र प्रविधिमा आउनुपर्छ भनेर अभियान सञ्चालन गरिएको भन्दै उहाँले सहकारी संस्थाहरु स्वनियममा सञ्चालन हुनुपर्ने बताए ।
सहकारीको साधारणसभाका क्रममा प्रविधिको उच्चतम प्रयोग गर्ने शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, ऐच्छिक बचततर्फ उत्कृष्ट बचतकर्ता, सर्वाधिक बचतकर्ता, ज्येष्ठ शेयर सदस्य, कनिष्ठ शेयर सदस्यलगायतलाई पुरस्कृत गरिएको थियो ।
साधारणसभाले सचिव मदनप्रसाद पौडेलको प्रतिवेदन, लेखा संयोजक गणेश अधिकारीको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्ष मनोजकुमार अग्रवालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष बालगोपाल चुकेको सभापतित्वमा सम्पन्न भएको हो ।
एभरेष्ट साकोसको १६औं वार्षिकोत्सव, ४० करोड बढीको सम्पत्ति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
