March 15, 2025
- ADVERTISEMENT -

१० दिनमै उप्कियो तीन करोडको रातो रंग

October 13, 2023

काठमाडौं / संविधान दिवसको अवसर पारेर तामझामका साथ काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सुर्यविनायकसम्म सञ्चालनमा ल्याइएको द्रूत बस सेवाका लागि सडकमा रातो रंग लगााउन र संकेत मात्रै सरकारी कोषबाट करिब तीन करोड १० लाख खर्च हुने भएको छ । रत्नपार्कदेखि सूर्यविनायकसम्म रंग लगाएको र संकेत लेखिएको बिल भुक्तानी गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागको कार्यालयमा फाइल पुगेको छ ।

यस रुटमा रंग लगाउन र संकेत लेख्न चारवटा कम्पनीलाई जिम्मा दिइएको छ । कम्पनीले त्यसको बिल सडक विभागलाई बुझाएका छन् । यद्यपि, अझै बिल भुक्तानी भइनसकेको विभागका कर्मचारी बताउँछन् ।

तीन करोड १० लाख रूपैयाँ खर्च गरेको लगाएको रंग १० दिनमै ठाउँठाउँमा उप्किएको विभागकै इञ्जिनियरहरू स्वीकार गर्छन् । द्रूत बस सेवा सञ्चालनको लागि छुट्टै लेनको संकेत गर्न रातो रंग लगाइएको हो । रातो रंग र संकेत लेख्ने काम रत्नपार्कदेखि जडिबुटीसम्म काठमाडौं सडक डिभिजन कार्यालय र जडिबुटीदेखि सूर्य विनायकसम्म, सूर्यविनायक, धुलिखेल– सिन्धुली–बर्दिवास सडक आयोजनाले गरेको हो ।

काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार रत्नपार्कदेखि जडिबुटीसम्म रातो रंग लगाउन के एएम कन्स्ट्रक्सन तथा अनिता बिजनेस हाउस पुतलीसडकलाई जिम्मा दिइएको थियो । यसैगरी, रत्नपार्कदेखि जडिबुटीसम्म साइनपोष्ट र साइनबोर्ड (रातो रंगभित्र लेखिएका अक्षर र बोर्ड) लेख्न सौरभ आटर्स एन्ड मिडिया सर्भिसेजसलाई जिम्मा दिइएको थियो ।

यसैगरी, काठमाडौंको जडिबुटीदेखि भक्तपुरको सूर्य विनायकसम्म नयाँ युग प्रालिले रंग लगाएको हो । जडिबुटीदेखि सूर्य विनायकसम्म साइन पोष्ट र साइनबोर्ड बनाउने काम पनि सोही कम्पनीलाई जिम्मा दिइएको थियो भने सूर्यविनायक, धुलिखेल सिन्धुली बद्रीबास सडक आयोजनाका सिनियर डिभिजन इञ्जिनियर (सिडिइ) नारायण लामिछानेले जनाए ।

सडक विभाग काठमाडौंका इञ्जिनियर हरिकुमार ठकुरीका अनुसार रत्नपार्क देखि जडिबुटीसम्म रंग लगाउन, पेन्टिङ गर्न तथा साइनबोर्ड राख्न भ्याट सहित १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । यसैगरी, जडिबुटीदेखि सुर्यविनायकसम्मको रुटमा यी काम गर्न एक करोड ६० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको सिडिइ लामिछानेले जनाए । सडक विभागमा बुझाइएको बिल अझै भुक्तानी भइनसकेको भन्दै ठकुरीले भने, ‘ठाउँठाउँमा रंग उप्किएको सही हो । तर उप्किएको ठाउँमा नबनाएसम्म हामीले भुक्तानी गर्दैनौं । अहिले सच्याउने काम सुरु भइसकेको छ ।’

निकै हतार हतारमा काम गर्नुपर्ने भएकाले यसअघि काम गरेका र अनुभवका आधारमा तीनवटा कम्पनी छान्नुपरेको उनले बताए । यस्तै भनाइ सूर्यविनायक, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका सिडिइ लामिछानेको छ ।

भदौ दोस्रो साता काठमाडौंको कुनै ठाउँमा द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री कार्यालय तहबाट गरिएको थियो । त्यसपछि यसको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाइ दिइयो । भदौ तेस्रो साता मन्त्रीस्तरीय निर्णयबाट रत्नपार्कदेखि सूर्यविनायकसम्म दु्रत बस सेवा सञ्चालन गर्ने निर्णय गरियो । त्यसभन्दा पहिले काठमाडौंका दुई तीनवटा सम्भावित रुटको अध्ययन गरिएको थियो । अध्ययनबाट सबैभन्दा उपयुक्त रुट रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुट देखिएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -