रत्ननगर / रत्ननगर नगरपालिका वडा नं १५ को आयोजनामा लोकसेवा तयारी कक्षाका सहभागीहरुलाई पाठ्यपुस्तक प्रदान गरिएको छ । लोकसेवा सारथि प्रा.लि.को सहजीकरणमा उक्त पाठ्यपुस्तक शनिबार प्रदान गरिएको वडा नं. १५ वडाध्यक्ष आशिक तामाङले जानकारी दिए ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाध्यक्ष आशिक तामाङ र लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले संयुक्त रुपमा कक्षामा सहभागीहरुलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सरकारी जागिरको माध्यमबाट देशको सेवा गर्ने अबसरको ढोका लोकसेवाबाट खुल्ने भएकाले मिहिनेत गरेर अध्ययन गर्न आग्रह गरे ।
मुलुकको शासनलाई सुशासनमा परिणत गर्न सरकारी सेवामा दक्ष र अनुभवी जनशक्ति आवश्यक रहेको भन्दै उनले निजामती सेवामा जागिरका लागि सुरू गरिएको तयारी कक्षा महत्वपूर्ण अवसर भएको बताए ।
वडाध्यक्ष तामाङले ६० दिनसम्म सञ्चालन हुने तयारी कक्षामा खरिदार र नायब सुब्बाका लागि कोर्ष पढाइ भइरहेको जानकारी दिए । बेरोजगारी समस्याको अन्त्य गर्न र वडाभित्रका युवाहरुलाई सरकारी सेवामा प्रवेश गराउन दोस्रोपटक तयारी कक्षा सञ्चालन गरिएको उनले बताए ।
गत आर्थिक वर्षमा ३९ जना र चालू आवमा ३० जनाका लागि तयारी कक्षा सुरू गरिएको उनले बताए ।
कार्यक्रममा लोकसेवा सारथि प्रा.लि. का प्रबन्ध निर्देशक महेश घिमिरे वडा सदस्य इमप्रसाद पन्त, लीलादेवी पोखरेल, शिवप्रसाद तिवारी, रूकमाया परियार, वडा सचिव सूर्यप्रसाद ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।