–बबिलाल तामाङ
भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्वलक्षित सुरक्षा सक्रियता बढाएको छ ।
प्रशासनले यात्रु ठगिने र सवारीसाधनले मनोमानी भाडा उठाउनेजस्ता गतिविधि हुन नदिन जिल्ला प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरेर सक्रियता बढाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले भने ‘विशेष सुरक्षा योजना’ नै बनाएर काम गर्दै आएको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गृहमन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशनबमोजिम यातायात तथा ट्राफिक व्यवस्थापनको विषयमा काम गरेको जानकारी दिए । प्रशासनले लामो तथा छोटो दूरीका सवारीसाधनले चाडपर्वकै मौका छोपेर विभिन्न बहाना बनाई यात्रुसँग बढी भाडा लिने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्नेलगायतका काम गर्ने हुँदा त्यसलाई रोक्न पनि नेपाल प्रहरी र मातहतका ट्राफिकलाई सुरक्षा चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको छ ।
‘मुख्य राजमार्ग र सहायक राजमार्ग सबैतिर चेकजाँचको भरपर्दो व्यवस्था मिलाउन निर्देशन दिएको छु,’ ‘प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘सवारीसाधन नियमसंगत तरिकाले चलाएको छ कि छैन भन्ने विषयमा सम्बन्धित यातायात व्यवसायीसम्मिलित अनुमगन समितिमार्फत अनुगमन हुन थालेको छ ।’
जिल्ला प्रहरी कार्यालय चितवनले पनि पर्वलक्षित ‘विशेष सुरक्षा योजना’ अगाडि सार्दै त्यसलाई कार्यान्वयनमा ल्याएको छ । भयरहित वातावरणमा चाडपर्व मनाउने वातावरण सिर्जना गर्न प्रहरीको यो योजना सार्थक हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
चाडपर्वको समयमा हुन सक्ने ठगी, जुवातास, लुटपाट, चोरी, डकैती, गुण्डागर्दीजस्ता आपराधिक गतिविधि हुन नदिन पनि यो अभियान आवश्यक परेको उनको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल तथा बजार क्षेत्रमा बढी सुरक्षा सतर्कता आवश्यक पर्ने हुँदा त्यसतर्फ पनि हाम्रो सोच पुगेको छ,’ उनले भने, ‘बजार क्षेत्रमा हुन सक्ने कालोबजारी नियन्त्रणमा पनि यो अभियानले केही न केही भूमिका पक्कै खेल्नेछ ।’
बजार अनुगमन तीव्र
प्रशासनले बजार अनुमगनलाई समेत तीव्रता दिएको छ । चाडपर्वको समयमा आमउपभोक्ता नठगियून् भन्ने उद्देश्यले बजार अनुगमनलाई विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि निरन्तरता दिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्वीवि शर्माले बताए । बजारमा म्याद गुज्रिएका सामानको विगविगी हुने र मूल्यभन्दा बढी पैसा असुल्ने जोखिम हुन नदिन प्रशासनले पर्वलक्षित अनुगमनलाई निरन्तरता दिएको उनले बताए ।
अनुगमनका क्रममा कैफियत भेटिएका सामग्रीलाई जफतपछि नष्ट गर्ने गरिएको उनले बताए । ‘प्रकृति हेरेर आवश्यक परेमा हामी कारवाही गर्नसमेत पछि हट्दैनौँ,’ उनले भने, ‘तर, बजार अनुगमनको उद्देश्य व्यापारीलाई कारवाही गर्नेमात्र नभएको हुँदा सकेसम्म सचेत गराएर छाडेका छौँ ।’
बजार अनुगमनका क्रममा विगतका तुलनामा यस वर्ष केही सुधार भएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका कार्यालय प्रमुख घननाथ अधिकारीले बताए । ‘अनुगमन गर्दै जाँदा विगतका तुलनामा सुधार भएको देखिन्छ । तर, व्यापारीहरू अझै पनि पूर्णरूपमा सचेत भने भइसकेका छैनन्,’
उनले भने, ‘हामीले सकेसम्म व्यापारीलाई नै सचेत गराउने प्रयास गरिरहेका छौँ, जसबाट उपभोक्तासम्म अखाद्य र गुणस्तरहीन उपभोग्य सामान नपुगोस् ।’