हिन्दूहरुको महान् चाड बडादसैँ सुरू भएसँगै नेपालीहरुको मन–मस्तिष्कमा दसैँ मनाउने विषयमा पारिवारिक र मानसिक तयारी पनि भइसकेको छ । तर, आमनेपालीलाई मुलकमा देखापरेको आर्थिक मन्दी, हत्याहिंसा, सडकको दुरवस्था र अकासिँदो बजार मूल्यका कारण दसैँले जति उत्साह र उमङ्ग ल्याउनुपर्ने हो, त्यो ल्याउन सकेको छैन । सरकारका विभिन्न निकायले भरपर्दो शान्ति सुरक्षा, सडक सुरक्षा, सहजरुपमा गन्तव्यमा पुग्ने वातावरण र अस्वाभाविक बजार मूल्य नियन्त्रण गरेर सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउनेतर्फ ध्यान दिनुपर्छ । हरेक वर्ष दसैँको आगमनसँगै हुँदाखाने र हुनेखाने वर्गबीच गहिरो खाडल उत्पन्न हुने गरेको छ । हुनेखानेहरुका लागि दसैँ उमङ्गको पर्व र हुँदाखाने वर्गका लागि सधैँ दशा बनिरहेको छ । हामीले सकी–नसकी पनि आफ्नो गच्छेअनुसार दसैँ मनाउँदै आएका छौँ । यस वर्ष पनि पुराना वर्षहरुकै पुनरावृत्ति भइरहेको छ । दसैँ स्वाभाविकरुपमा राम्रो लगाउने र मीठो खाने पर्व पनि हो । तर, हामीले पर्व मनाउने क्रममा अनावश्यक तड्कभड्क ग¥यौँ भने दसैँको सांस्कृतिक ओझ घट्दै जाने निश्चित छ ।
यस वर्ष पनि प्राकृतिक विपत्ति, सवारीसाधनको अत्यधिक दुर्घटना, हत्याहिंसा र बलात्कारको पुनरावृत्ति, चोरी–डकैती, लुटपाट, आगलागी र अराजकताका कारण देशभर ठूलो जनधनको क्षति हुन गएको छ । हामीले दसैँ मनाउँदै गर्दा विविध श्रृङ्खलावद्ध घटनाक्रमले नेपालीहरुको आँखा ओभानो हुन सकेको छैन । पीडैपीडाको भारी बोकेर महङ्गीको मारमा पिल्सिएका जनताले दसैँको उमङ्ग साट्न सक्ने देखिएको छैन । चाडपर्वहरु मेलमिलाप, सहिष्णुता, समानता, एकता र भाइचाराको सम्बन्ध विकसित गर्न आउने गर्छन् । तर, यही चाडलाई विकृत बनाइँदा यसको सांस्कृतिक पक्ष ओझेलमा पर्छ । दसैँ सामूहिक पर्व भएकाले आफूमात्र रमाउनु उचित हुँदैन, अरुका पीडाव्यथालाई मध्यनजर गर्दै चाडपर्वलाई सामान्य र तडकभडकमुक्त बनाउनु नै बुद्धिमानी हुनेछ । आर्थिक क्षमता, क्रयशक्ति र सामाजिक परिवेशका कारण पनि हाम्रा चाडपर्वहरु त्यति सुखद र रमाइलो बन्न सकिरहेका छैनन् । ऋण काढेर भए पनि दसैँ मनाउनै पर्ने परम्पराको अब अन्त्य हुनुपर्छ । देखासिकी प्रवृत्तिले अनावश्यक व्ययभारमात्र थोपर्छ । र, त्यसको बोझले पनि दसैँ दशाका रुपमा परिणत हुनजान्छ । कुनै पनि पर्व मनाउँदा खुसीले मनाउन सक्नुपर्छ, अनावश्यक बोझका रुपमा होइन ।
- ADVERTISEMENT -

हाम्रो समाजमा दसैँका नाममा अनावश्यक तडकभडक र फजुल खर्च गर्ने प्रवृत्ति बढ्दो छ । यस्तो प्रवृत्ति न्यूनीकरण हुन सकेन भने त्यसले विपन्न वर्गमा नकारात्मक असर पु¥याउँछ । समाजमा वर्ग विभाजन हुँदै गयो भने यसले राष्ट्रिय एकता र समृद्धि प्राप्त गर्ने काममा प्रतिकूल असर पुग्छ । हामीले चाडबाडमा भौतिक सुखभन्दा पनि मानसिक सुखमा रमाउने बानीको विकास गर्नुपर्छ । अन्यथा, दसैँसँगै दशा पनि साथसाथै जोडिएर आउन बाध्य हुनेछ । हाम्रा चाडपर्व भड्किलो नबनोस् । दसैँ सबैका लागि र सबैले महसुस गर्ने गरी आउन सकोस् । त्यसैले, हामीले आफ्नो आर्थिक हैसियत र क्षमतालाई दृष्टिगत गर्दै दसैँ मनाउन सक्नुपर्छ, अनिमात्रै हाम्रा चाडपर्वहरु चिरस्थायी र दिगो बन्न सक्नेछन् । नेपाली समाजको मिश्रित सांस्कृतिक विशेषताका कारण नेपालीहरुको सहिष्णुता विश्वमै अनुकरणीय छ । दसैँमात्र होइन, नेपालमा मनाइने सबै पर्वहरुको सन्देश एउटै हुने गर्छ ः भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने र सहिष्णुता बलियो पार्ने । त्यसैले राष्ट्रिय गीतमा उल्लेख भएझैँ ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’को भाव र मर्मअनुसार दसैँ मनाउन सबैलाई ऊर्जा प्राप्त होस्, यस पर्वले सद्भाव र शान्ति ल्याओस्, विजयादशमीको हार्दिक शुभकामना !


























