April 26, 2025

इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुलमा स्थानीयको श्रमदान

October 25, 2023
- ADVERTISEMENT -

चितवन / इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण गरिएको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो ।

पुल निर्माणका लागि ३० प्रतिशत श्रमदानको काम गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेपछि पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताउनुभयो ।

श्रमदानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दा सहभागी भएको उहाँले जानकारी दिनुभयो । “तीसदेखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गरेका छौँ”, उहाँले भन्नुभयो”, “प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ ।” उहाँले पुल निर्माणका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । पुल निर्माण भएपछि दसैँका अवसरमा पुल सञ्चालनमा आएको छ ।

“पलिकामा सरसफाइ, कुलो निर्माण, विद्यालय र बाटोघाटो निर्माणमा पनि श्रमदान गरिएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसले विकास निर्माणलाई पारदर्शी बनाउनेछ । जनसहभागिताका लागि नागरिक उत्साहित छन् ।” उहाँले पालिकामा सबै विकास निर्माणका काममा श्रमदान गर्ने योजना रहेको र न्यूनतम १० प्रतिशत श्रमदान अनिवार्य गरेको बताउनुभयो ।

यसअघि हरिपुर खोलामा राखिएको बेलीब्रिजको संरचना प्रयोग गरेर स्याङ्दी खोलमा पुल निर्माण गरिएको इच्छाकामना–७ का वडाध्यक्ष बमबहादुर रानामगरले जानकारी दिनुभयो ।

हरिपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ । उहाँले बेलीब्रिज राख्नका लागि वडावासीले श्रमदान गरेको बताउनुभयो । उहाँले पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुने जानकारी दिनुभयो । पुल नहुँदा हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आउनुपरेको थियो । रासस

- ADVERTISEMENT -