२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

महानगरको भ्रमण वर्ष सफल बनाउन पत्रकारसँग छलफल

प्रकाशित मिति : २०८० कार्तिक १६ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा आज (बुधबार) आयोजित छलफलमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिइन् । उनकै संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूलसमिति बन्दै गरेको सो अवसरमा जानकारी गराइएको थियो ।

यस्तै उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा कार्यसम्पादन समिति र २८ वटा उपसमिति निर्माण गरेर काम अघि बढाइएको उनले बताइन् । भ्रमण वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि बाघ देखाउने गरी तयारी भइरहेको छ ।

यसैगरी दियालो बङ्गला क्षेत्र पर्यटकको लागि खुला गर्न पहल भइरहेको उनले बताइन् ।

उपप्रमुख अधिकारीले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रचार गरी भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्न पत्रकारलाई आग्रह गरे । उनले हालसम्म तयारीका काम धेरै अघि बढेको भन्दै आर्थिकरुपमा अप्ठ्यारो अवस्थामा पनि अर्थतन्त्र चलायमान गराउने गरी कार्यक्रम गर्न लागिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र पर्यटन विज्ञ डा विश्व सुवेदीले हालसम्मका तयारीका बारेमा जानकारी गराएका थिए । भ्रमण वर्षका लागि महानगरपालिकाले रु तीन करोड ७० लाख बजेट विनियोजन गरेको छ । सो कार्यका लागि प्रदेश सरकारले र सङ्घीय सरकारसँग थप बजेट पनि माग गरेको सो अवसरमा जानकारी गराईयो ।

महानगरपालिकाको एकातर्फको भूभाग चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । महानगरबाट दुई नाकामार्फत् निकुञ्ज प्रवेश गर्न सकिन्छ । यसका अतिरिक्त सूर्याेदय अवलोकनका लागि चौकीडाँडा र सूर्यास्तका लागि गोलाघाट यही महानगरमा पर्दछ ।

महानगरले २९ वटा पर्यटकीय गन्तव्य पहिचान गरेको छ । तीमध्ये सात वटा मुख्य पर्यटकीय गन्तव्य हुन् । कार्यक्रममा पत्रकारहरुसँग भ्रमण वर्ष सम्पन्न गर्न आवश्यक सुझाव लिइएको थियो ।

- ADVERTISEMENT -