April 19, 2025

मानव–वन्यजन्तु द्वन्द्व नरोकिँदा सरोकारवाला निकायबीच छलफल

November 10, 2023
Photo : Tulman Gurung
- ADVERTISEMENT -

–बबिलाल तामाङ
भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका बस्तीमा जङ्गली जनावरको आतङ्क नरोकिएपछि भरतपुर महानगरपालिका वडा नं.२३ ले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र विकास समिति र नेपाली सेनाको खड्ग दल गणसँग छलफल गरेको छ । मावन र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न सकिने उपायबारे सरोकारवाला निकायबीच छलफल भएको हो ।

गत आइतबार राति करिब साढे १० बजेको समयमा वडा नं.२३ को खड्गौली दरै टोल विकास संस्थाअन्तर्गत काली दरैको घरमा जङ्गली हात्तीले क्षति पु¥याएपछि समस्या समाधान गर्न सकिने विषयमा तत्काल छलफल गरिएको वडा नं. २३ का अध्यक्ष दीपक दवाडीले जानकारी दिए । जङ्गली हात्तीले दरैको घर भत्काउनुका साथै घरभित्र रहेको दराज, खाट र पङ्खामा क्षति पु¥याएको थियो ।

घर भत्काएपछि करिब दश क्वीन्टल धानसमेत नष्ट गरिदिएको वडाअध्यक्ष दवाडीले पुष्टि गरे । ‘कुनै रात त सुत्नै पाइँदैन,’ उनले भने, ‘सीमावर्ती क्षेत्रका वासिन्दा सधैँ त्रासमा छन् ।

त्यसैले सकेसम्म दीगो समाधानको उपाय खोजिरहेका छौँ ।’ त्यसअघि पनि एउटा घर र होटलमा क्षति पु¥याएको थियो । जङ्गली हात्तीले मानवबस्तीमा पसेर दुःख दिने क्रम नरोकिएपछि थप क्षति हुनबाट जोगाउन निकुञ्ज प्रशासन र सम्बन्धित निकायसँग छलफलको वातवारण सिर्जना गरिएको उनको भनाइ छ ।

सरोकारवाला निकायबीचको छलफलबाट हात्ती प्रवेश गर्ने स्थानमा तत्काल अस्थायी सुरक्षा पोष्ट राख्ने निर्णय भएको उनले बताए । यसबाहेक सुरक्षाका लागि रातिको समयमा गस्ती बढाउने, प्रशासन, सेना र स्थानीय तहलाई ‘हाइअलर्ट’मा राख्ने, बस्ती परेर क्षति गर्ने हात्तीलाई तत्काल नियन्त्रणमा लिने, जङ्गली जनावरले क्षति पु¥याएका घर परिवारलाई नियमानुसार शीघ्र क्षतिपूर्ति दिलाउने, सोलार फेन्जको क्षमता बिस्तार तथा सुधार गर्ने, दिगोरूपमा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनीकरण गर्न आवश्यक उपाय अपनाउनेलगायतका निर्णय भएको वडाअध्यक्ष दवाडीले जानकारी दिए ।

निकुञ्ज क्षेत्र र मध्यवर्ती क्षेत्र आसपासका बस्तीमा अझै पनि जङ्गली जनावरको त्रास उत्तिकै छ । यसलाई दीगो समाधान नगरेसम्म मानव तथा वन्यजन्तुबीचको द्वन्द्व कम नहुने वडाअध्यक्ष दवाडीले बताए ।

‘मानव र वन्यजन्तु दुवैलाई हानी नहुने गरी संरक्षणको वातावरण सिर्जना गर्न संघीय सरकारले नै प्रयास गर्नुपर्छ,’ उनले भने, ‘व्यवस्थित तरिकाले दुवैको संरक्षण नगरेसम्म यो समस्या दोहोरिरहन सक्छ ।’ होइन भने वर्षौँदेखि स्थानीयले खेप्दै आएको यो समस्या भावी पुस्तासम्म पनि पुग्न सक्ने उनको भनाइ छ ।

- ADVERTISEMENT -