April 29, 2025

महिला हिंसाविरुद्ध ऐक्यबद्धता

November 30, 2023
- ADVERTISEMENT -

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ देशभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान थालनी भएको छ । हरेक वर्ष २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म संसारभर लैङ्गिक हिंसाविरुद्धको यो दिवस मनाइँदै आएको छ । हिंसामुक्त सहर, लैङ्गिकमैत्री विद्यालय र भयरहित वातावरण सिर्जना गर्न स्थानीय तहका विभिन्न संघसंस्था, अधिकारकर्मी र समूहहरुले औपचारिक कार्यक्रम गरी यस अभियानको सुरूवात गरेका छन् । हिंसा अन्त्यका लागि सरकारले प्रतिबद्धता जाहेर गर्दै गर्दा र बलात्कारविरुद्धको ऐक्यबद्धता जनाइरहँदा घरभित्रै महिलाहरु असुरक्षित हुने गरेको विभिन्न घटनाले पुष्टि गरेको छ । पछिल्लो समय महिला हिंसा तथा बलात्कारका घटना परिवारभित्रैका सदस्यबाट हुनु विडम्बनाको विषय बन्न पुगेको छ । यसले हाम्रो समाज कतिसम्म असुरक्षित बन्दै गएको छ भन्ने पनि संकेत गर्छ । हामीले विभिन्न दिवस मनाउँदै गर्दा महिलालाई गरिने व्यवहारमा खासै परिवर्तन आएको पाइँदैन । अझै पनि दाइजो नपाएको झोँकमा महिलामाथि हिंसा, अन्याय र अत्याचारका घटना भइरहेका छन् । महिला हिंसामा महिलाकै संलग्नता हुनु अर्को दुर्भाग्य हो । दाइजो, बोक्सी, छाउपडी, छोराछोरीमा विभेद, छुवाछूतजस्ता कुप्रथा र अन्धविश्वासलाई नेपालको कानुनले निषेध गरे पनि व्यावहारिकरूपमा अझैसम्म नेपाली समाजमा विद्यमान छ । कुसंस्कारबाट प्रताडना दिने काम पनि प्रायः महिलाबाटै भइरहनु महिलाकै लागि अभिसाप बन्न पुगेको छ ।

नेपालमा सदिऔँदेखि महिलाहरु अधिकारको लडाइँ लड्दै आएका छन् । जनसंख्याको हिसाबले पनि मुलुकको आधाभन्दा बढी हिस्सा महिलाले नै ओगटेका छन् । पछिल्लो समय कानुनीरूपमा महिलालाई बलियो बनाएको छ । तर, व्यावहारिकरूपमा महिलामाथि हुने गरेका अन्याय, अत्याचार र विभेदका घटनामा भने न्यूनीकरण हुन सकेको छैन । केही वर्षयता अपराधका प्रकृति झनै कहालीलाग्दो बन्दै आएको छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत समानताको हकमा ‘कुनै पनि नागरिकलाई जाति, धर्म, वर्ण र लिङ्गका आधारमा भेदभाव गरिने छैन’ भन्ने स्पष्ट व्यवस्था छ । तर, कानुन र व्यवहारमा एकरूपता हुन नसक्दा महिलाहरु अझैसम्म पीडित बन्न पुगेका छन् । अहिले पनि महिलासँग सम्बन्धित मुद्दा महिलाले नै गुपचुप राख्ने गरेका, आफूमाथि अन्याय परे पनि सामाजिक लोकलाजका कारण सार्वजनिक नगर्ने, परिवार तथा आफन्तबाटै हुने गरेका हिंसाका घटनालाई ढाकछोप गर्ने गरिएका प्रशस्त दृष्टान्त छन् ।

घरेलु हिंसाका प्रायः घटनामा महिलाबाटै महिलाको हिंसा हुने गरेको पाइन्छ । जुन हिंसा शिक्षित र आफूलाई सभ्य नागरिक भनिनेहरुबाटै भइरहेको पाइन्छ । आर्थिक र सामाजिकरूपमा कमजोर वर्ग, राजनीतिक पहुँच र प्रभाव नभएका वर्ग र शिक्षाबाट वञ्चित वर्ग नै यस्ता घटनामा बढी पीडित हुने गरेका छन् । नेपाली समाजमा हिंसा बढाउने कारक तत्व भनेको लोभ, मोह, अहंकार, देखासिकी र विकृत मानसिकताको उपज हो । पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग, विश्वास र आत्मविश्वासको कमीजस्ता कारणले पनि महिला हिंसा बढिरहेको पाइएको छ । आर्थिक प्रलोभनमा परी घरपरिवारका सदस्यदेखि आफन्तसम्मलाई मानव बेचबिखनजस्तो जघन्य अपराध गर्ने क्रम पनि बढ्दो छ । जुनसुकै हिंसाको बढोत्तरी हुनु भनेको दण्डहीनता बढ्दै जानु हो । लैङ्गिक हिंसाको अपराधमा संलग्न जोसुकैलाई पनि कानुनअनुसार कारबाही गर्ने वातावरण नबनेसम्म महिलाहरु भयमुक्त हुन सक्दैनन् । अपराध नियन्त्रणका लागि राज्यलाई दबाब सिर्जना गर्ने, कुनै पनि शक्तिको आडमा मुद्दा प्रभावित नगर्ने र अपराधीलाई ढाकछोप गर्ने प्रवृत्ति अन्त्य गर्ने हो भने दण्डहीनता अन्त्य गर्न सकिन्छ । सभ्य समाज निर्माणका लागि हरेक नागरिकले ‘हिंसा गर्दिन र सहन्न’ भन्ने प्रतिबद्धता जनाउनु जरूरी छ ।

- ADVERTISEMENT -