चितवन / छुट्टाछुट्टै स्थानबाट गैँडा मारेको आरोपमा आठ जना पक्राउ परेका छन् । गैँडा मारी खाग ओसारपसार तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा मकवानपुरका चार जना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ लेबटका ३३ वर्षीय रमेश खाती, राक्सिराङ गाउँपालिका–९ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ बस्ने ४४ वर्षीय शमशेर थिङ, मनहरी गाउँपालिका–६ का ५६ वर्षीय थिङ बाजे भन्ने सीताराम थिङ, मकवानपुरको मनहरी नगरपालिका–७ ज्यामिरे घर भई हाल चितवनको माडी नगरपालिका–९ बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङ रहेका छन् ।
उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र चितवन राष्ट्रिय निकुञ्जको संलग्नतामा एकीकृत अपरेसन टोलीले पक्राउ गरेको हो ।
उक्त अपरेसन टोलीले उनीहरुसँगै अन्य चार जनालाई पनि पक्राउ गरेको छ । रोल्पाको सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल हेटौँडा उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अर्जुन रोका, चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतेसिंह मोक्तान, गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरुङ र चितवनको राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङ्तानलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरी बिहीबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।
पक्राउ परेका उनीहरुको साथबाट दुई थान गैँडाको खाग, भरुवा बन्दुक एक थान, बिँड नभएको बञ्चरो एक थान, कालो झोला, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, गुलेली, टर्च लाइट, डिक्ची, पटका बारुद, दुई थान मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको विभागका महानिर्देशक डा. सन्धिुप्रसाद ढुङ्गानाले जानकारी दिए ।