April 29, 2025

बढ्दो सवारी दुर्घटना

December 13, 2023
- ADVERTISEMENT -

देशका विभिन्न ठाउँमा सवारीसाधन दुर्घटनाका खबर श्रृङ्खलावद्ध रुपमा सार्वजनिक भइरहेका छन् । चितवनलगायत देशभर नै गाडी दुर्घटनामा मानिसको ज्यान गएको अप्रिय खबर हरेक दिन सुन्न हामी विवश भएका छौँ । प्रहरीको तथ्याङ्कअनुसार बर्सेनि दुई हजार बढीको ज्यान सडक दुर्घटनाका कारण गइरहेको छ । नेपालमा दैनिक औसत सात जनाको मृत्यु सवारीसाधनको दुर्घटनाबाट हुने गरेको छ । पटकपटक विभिन्न प्रकृतिका दुर्घटना हुँदै आए पनि सडक र गाडीको क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति अझै हटेको छैन । जीर्ण सडकमा गाडी गुडाउनु आफैँमा जोखिमपूर्ण हो । त्यसमाथि क्षमताभन्दा बढी यात्रु चढाउनु भनेको यात्रुलाई मृत्युयात्रामा दौडाउनुसरह हो । कोरोना महाव्याधियता यात्रुको चाप त्यति नभए पनि दिनहुँजसो गाडी दुर्घटनामा परेका घटना सार्वजनिक हुनु चिन्ताको विषय हो ।

प्रायः दुर्घटनाको मुख्य कारण चालकको लापर्बाही रहेको पाइन्छ । यात्रुलाई खतरापूर्ण स्थानमा ओभरलोड हुनेगरी गाडी कुँदाउनु चालकको गम्भीर लापर्बाही हो । बोलेरो गाडी, जिप, मिनीट्रकजस्ता सवारीमा यात्रुहरु खचाखच भरेर यात्रा गराउँदा त्रासदीपूर्ण घटना हुन पुगेका छन् । पछिल्लो समय विकासका नाममा पहाडका भीरभीरै गाडी पु¥याउने होडबाजी छ । गाउँगाउँमा गाडी पुग्दा उत्साह बढ्दै गर्दा जोखिमपूर्ण सडक र चालकको लापर्बाहीका कारणले निम्त्याउने दुर्दशाचाहिँ कल्पना गर्न सकिँदैन । नेपालमा जति पनि धेरै यात्रुको ज्यान जानेगरी दुर्घटनाहरु भएका छन्, ती पहाडका डाँडा र भीरपखेरामा गाडी खसेर नै भएका छन् । साँघुरो र जोखिमपूर्ण कच्ची सडकमा गाडी कुँदाउदा यस्तै प्रकृतिका दुखद खबरहरु एकपछि अर्कोगरी सञ्चारमाध्यममा आइरहेका हुन्छन् । भवितव्य र आकस्मिक दुर्घटनाबाहेक पूर्वसतर्कता अपनाउन सकिए यात्रुलाई अकाल मृत्यु हुनबाट जोगाउन सकिन्छ । दुर्गम क्षेत्रमा दुर्घटना हुँदा गम्भीर घाइते भएकाको समयमै उपचार हुन नसकेर मृत्यु भएका अनेकन दृष्टान्त छन् । हाम्रा सयौँ कच्ची सडक मृत्युमार्ग बनिरहेको सन्दर्भमा दुर्घटनालाई न्यूनीकरण गर्नेतर्फ सरोकारवाला निकाय जिम्मेवार बन्न सकिरहेका छैनन् ।

विशेषगरी ट्रक, ट्याङकर, टिप्पर, बस, जिप र मोटरसाइकल चालकको लापर्बाहीकै कारण दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाएको छ । प्रहरीले सवारी साधन न्यूनीकरणका लागि अनेकन उपाय अवलम्बन गरिएको भए पनि सवारीको चाप र सवारी दुर्घटनामा कमी आएको छैन । दुर्गम क्षेत्रमा ट्राफिक सचेतना र चालकलाई प्रशिक्षणको अभाव त छँदैछ कच्ची सडकमा सिकारु चालकले गाडी कुदाउने प्रवृत्ति पनि नियन्त्रण हुन सकिरहेको छैन । देशभर सडक खन्ने होड चले पनि जीर्ण सडकको स्तरोन्नति नगर्नु र गाडी मर्मत तथा चालकलाई जिम्मेवार बनाउनेतर्फ ध्यान नदिइनुजस्ता कारण पनि दुर्घटना बढिरहेका छन् । सवारी दुर्घटना न्यूनीकरण अध्ययन प्रतिवेदनका अनुसार सवारी दुर्घटना हुनुमा सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवी चालकको कमी, मापदण्डविपरीत बनेका सडक संरचना, चालकमा सवारी नियमको ज्ञानको अभाव, गाडीको कमजोर अवस्था, सडक प्रयोगकर्ताको लापर्बाही प्रमुख कारण औँल्याइएको छ । दुर्घटना बढ्दै गए पनि न्यूनीकरण गर्ने प्रयास कमजोर हुनु र नीति–नियम र कार्ययोजना कार्यान्वयन फितलो हुनुजस्ता समस्या समाधानबारे सम्बन्धित निकाय गम्भीर हुनुपर्ने देखिन्छ । सवारीसाधनको क्षमताअनुसार यात्रु बोक्न सकेमात्रै पनि दुर्घटना न्यूनीकरण हुने अपेक्षा गर्न सकिन्छ ।

- ADVERTISEMENT -