April 22, 2025

समृद्धिको वर्ष बनोस्–२०२४

January 3, 2024
- ADVERTISEMENT -

आज जनवरी १ अर्थात् अङ्ग्रेजी क्यालेन्डरअनुसार नयाँ वर्ष २०२४ को पहिलो दिन । वार्षिक समयचक्रसँगै सन् २०२३ ले कष्टमय ३६५ दिनको चक्कर काटेर नयाँ बनेर आएको विशेष दिन । भर्खरै बिदा भएको सन् २०२३ समग्रमा त्यति आशालाग्दो वर्ष बन्न सकेन । तीन वर्षअघि चीनको वुहानमा देखिएको कोरोना भाइरसको प्रभाव २०२३ सम्म पनि कायमै रह्यो । कोभिड–१९ को बहुरुपको असर अद्यापि बाँकी नै रहेको अवस्था छ । नयाँ भेरियन्टको कोरोना भाइरस भारतमा देखा परेपछि नेपालमा पनि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । कोरोनाले आर्थिक क्षेत्रमा पारेको प्रभाव अझै केही समयसम्म देखिन सक्ने अर्थशास्त्रीहरुले बताउँदै आएका छन् । आर्थिक दृष्टिकोणले सन् २०२३ पछिल्ला केही दशकयताकै सबैभन्दा सकसपूर्ण वर्ष रह्यो । चर्को आर्थिक मन्दी, रुस–युक्रेन युद्धले खल्बलिएको आपूर्ति शृङ्खला, खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, विभिन्न देशले गरेका निर्यात कटौतीले विश्व अर्थतन्त्रलाई सङ्कुचनतर्फ धकेल्यो । आर्थिक सूचकहरु सन्तोषजनक रहेन । एकपछि अर्को गर्दै विकसित प्रतिकूल घटनाक्रमले अर्थतन्त्रको समग्र परिदृश्य नै बदलियो ।
विश्व अर्थतन्त्रमा एकपछि अर्को समस्या थपिँदै गइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा प्रभाव नपर्ने कुरै आएन । सन् २०२३ मा वाणिज्य बैंकहरुले व्याजदर बढाउँदा त्यसको असर समग्र क्षेत्रमा प¥यो । चर्को व्याजदर अहिले विश्वव्यापी समस्या बनेको छ । नेपालमात्र होइन सबैजसो केन्द्रीय बैंकले मौद्रिक उपकरणलाई कसरी कसिलो बनाउने भन्ने दबाबमै रहे । तरलता संकट र बढ्दो मुद्रास्फीतिको ग्राफले गर्दा बैंक तथा वित्तीय संस्थामात्र होइन, समग्र देशकै अर्थतन्त्र सकसपूर्ण रह्यो । शेयर बजार निरन्तर ओरालो लाग्यो । बैंकको व्याज तिर्न नसकेर कैयौँ उद्योगी व्यापारीहरु धराशायी भए । सन् २०२३ मा सबैभन्दा ठूलो चुनौती मूल्य वृद्धि नै हो । नेपालमा खाद्य मुद्रास्फीति करिब ८ प्रतिशत देखियो । नेपालमा धान खेती गर्ने समयमा मल नपाउँदा उत्पादनमा असर प¥यो । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति बढ्दै गए पनि उच्च व्यापार घाटा, तरलता संकट र उच्च व्याजदरलगायत समस्या अर्थतन्त्रमा देखिँदै आएका छन् ।
सन् २०२३ नेपालको लागि राजनीतिकरूपमा चमत्कारको वर्ष बन्यो । डेढ वर्षअघि उदय भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जबर्जस्त आफ्नो उपस्थिति कायममात्र गरेन, चितवनको दुई क्षेत्रमा कांग्रेस, एमालेका हस्तीहरुलाई अत्यधिक मतले पराजित गर्दै रवि लामिछाने दुई पटक सांसद् बने । सत्तास्वार्थको खेल र हठात् सत्तागठबन्धन तोड्दै प्रचण्ड नेतृत्वको सरकारले पहिलो पार्टी नेपाली कांग्रेसलाई प्रतिपक्षमा धकेलेर भर्खरै उदाएको रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिएको थियो । तर, त्यो ३३ दिन पनि टिक्न सकेन । पुनः कांग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वको गठबन्धन सरकार बन्यो । समग्रमा २०२३ मा पनि मुलुकभित्र विद्यमान बेथिति र विकृतिहरु झनै बढेर गए । शान्तिसुरक्षाको स्थिति सन्तोषजनक रहेन । प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना दर्ता दर्ता भए । मुलुकमा केही परिदृष्य भने पक्कै पनि बदलिएका छन् । जनताका आशा र अपेक्षा बढेका छन् । देशमा सुशासन, जनताले परिवर्तनको महसुस गर्न सक्ने वातावरण, बेथिति र विसंगतिको अन्त्यका लागि सन् २०२४ लाई कुर्नैपर्ने हुन्छ । समग्रमा सन् २०२४ आर्थिक समृद्धिको वर्ष बन्न सकोस्, अङ्ग्रेजी नयाँ वर्षको हार्दिक शुभकामना !

- ADVERTISEMENT -