२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

देवघाटमा बुद्धको मूर्ति स्थापनाका लागि अपिल

प्रकाशित मिति : २०८० पुष २० गते
- ADVERTISEMENT -

चितवन / देवघाटमा रहेको देछेन थार्वालिङ बौद्ध गुम्बा, बुद्ध पार्क निर्माण समितिले बुद्धको मूर्ति स्थापना गर्नको लागि ‘बौद्ध संस्कार शिक्षण श्रवण कार्यक्रम’ आयोजना गरेको छ । भरतपुर–१, स्थित देवघाटमा रहेको गुम्बामा आवश्यक संरचना निर्माणको लागि बजेट अभाव भएपछि शुक्रबार मंगलपुर बजारमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

बुद्ध पार्क निर्माण समितिका संयोजक शम्भुलाल पाख्रिनका अनुसार पार्कमा मूर्ति निर्माण गर्नको लागि करिब २५ लाख रूपैयाँ लागत खर्च हुने अनुमान गरिएको छ । मूर्ति स्थापनाको लागि प्रदेश सरकार र स्थानीय सरकारसँग बजेट माग गरिरहेको उनले बताए ।

मूर्ति स्थापनापछि देवघाटलाई धार्मिक स्थलका रूपमा मात्र नभई पर्यटकीय गन्तव्यको रूपमा समेत परिचित गराउन सकिने समितिका संयोजक पाख्रिनले बताए । उनका अनुसार बजेटको आकार ठूलो भएकोले पहिलो चरणमा जनसमुदायमा सहयोगका लागि अपिल गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ज्ञानुजङ्ग लामाले बुद्धको मूर्ति निर्माणमा तामाङ समुदायले अग्रसरता देखाउनु पर्ने बताए । ‘सबैभन्दा पहिले हामी तामाङ समुदायबाटै पहल थालिनु पर्छ । त्यसपछि समग्रमा सबै समुदायसँग सहयोगको अपिल गर्न सकिन्छ,’ उनले भने । सांसद लामाले प्रदेश सरकारबाट आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

धर्मगुरु नेपाल अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघका केन्द्रीय महासचिव तथा प्रमुख लामा प्रेम दोर्जे बल लामाले बौद्धको संस्कारको विषयमा प्रकाश पारेका थिए । प्रमुख लामाले बौद्धमार्गीहरुको ६ वटा सामाजिक संस्कार (जन्म, पास्नी, ब्रतबन्ध, विवाह, मृत्यु र सप्ताह गरिने दुन्ची)सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भरतपुर वडा नं. १७ का वडाअध्यक्ष ललितमान तामाङ, वडा नं. १७ का प्रकाश तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला शाखा चितवनका अध्यक्ष बाबुलाल तामाङ, तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनका अध्यक्ष बबिलाल तामाङ, म्हाणी आमा समूहकी अध्यक्ष चिनीमाया पाख्रिन, भरतपुर ५ का वडा सदस्य मुना तामाङ, भरतपुर १९ का वडा सदस्य खड्गबहादुर पाख्रिन, विभिन्न गुम्बाका अध्यक्ष र संघसंगठन प्रमुखहरुको उपस्थिति थियो ।

कार्यक्रम देछेन थार्वालिङ गुम्बा ङेमा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -