March 15, 2025
- ADVERTISEMENT -

खैरहनीमा ‘नवौं खिचरा महोत्सव’ हुने

January 7, 2024

चितवन / थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा नवौँ खिचरा महोत्सव हुने भएको छ । थारू संस्कृति जोगाउनका लागि पूर्वी चितवनको खैरहनीमा उक्त महोत्सव हुन लागेको शनिबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो ।
माघी पर्वका अवसर पारेर थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धधन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विगत नौ वर्षदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ ।
महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर चौधरीका अनुसार महोत्सव सम्पन्न गर्न दुई सय एक सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० कक्ष रहनेछन् ।
महोत्सवलाई चितवनबासी थारू समुदायले मात्र नभई सम्पूर्ण जातजातिले गर्वका रुपमा लिने गरेको चौधरीले बताउनुभयो । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न सङ्घसंस्थाका कक्ष रहनेछन् । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान समावेश गरिने उहाँले बताउनुभयो । महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।

- ADVERTISEMENT -