February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोनाको नयाँ भेरियन्टको जोखिम

January 10, 2024

शून्य गतिमा पुगिसकेको कोरोना भाइरसको सङ्क्रमण पुनः नयाँ भेरियन्टका रुपमा विश्वका कैयौँ देशमा फैलिँदै गएको छ । पछिल्लो समय देखा परेको कोरोना भाइरसको सब भेरियन्ट ‘जेएन.वन’ले छिमेकी मुलुक भारतमा केही दिनदेखि फैलिन थालेको छ । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा समेत कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कले जनाएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको ‘भेरियन्ट’ यकिन नभए पनि नेपालमा समयमै सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
भारतमा कोरोना भाइरसको सब भेरियन्ट ‘जेएन.वन’का कारण हजारौँ व्यक्ति सङ्क्रमित भएको र केही मानिसको मृत्युसमेत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत सेप्टेम्बर महिनामा पहिलोपटक जेएन.वन भेरियन्ट अमेरिकामा देखा परेको थियो । जेएन.वन भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ इन्ट्रेस्टको श्रेणीमा राखेको छ । पछिल्लो भेरियन्ट पत्ता लगाउने क्रममा पुसको पहिला साता एक दर्जन व्यक्तिको जिन सिक्वेन्सिङ गरिए पनि भारतमा फैलिएको भेरियन्ट भने नेपालमा नदेखिएको बताइएको छ । पुसको चौथो सातासम्म आइपुग्दासमेत भेरियन्ट यकिन हुन सकेको छैन । जेएन.वन भेरियन्टको सङ्क्रमण निकै दु्रतगतिमा फैलिन सक्ने अनुमान गरिएकाले नेपाल पनि त्यसबाट अछूतो रहन सक्ने देखिँदैन ।
भारतबाट दैनिक सयौँ मानिसको आवतजावत भैरहनु र सुदूरपश्चिम क्षेत्रमा कोरोना भाइरसको बढ्दो उपस्थिति देखिनुले नेपालमा सङ्क्रमण फैलिन बेर नलाग्ने देखिन्छ । सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिए पनि अवैधरुपमा आउने सङ्क्रमितका कारण कोरोनाको जोखिमबाट नेपाल प्रभावमुक्त हुन नसक्ने अवस्था देखिन्छ । पछिल्लो समय विश्वका कैयोँ देशमा देखिएका सङ्क्रमणका घटनालाई हेरेर सङ्क्रमणको विस्तार र फैलावट हुन नदिन सीमा नाकाहरुमा गरिने परीक्षण भरपर्दो र जाँचको दायरालाई फराकिलो बनाउनुपर्ने देखिन्छ । अझै पनि कतिपय नागरिक कोरोनाविरूद्धको खोप लगाउन छुटिरहेका छन् । त्यस्ता व्यक्तिहरुलाई सङ्क्रमणको जोखिम ज्यादा रहन्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका, दीर्घरोगी, बालबालिका र वृद्धवृद्धाहरुमा सङ्क्रमणको अत्यधिक जोखिम हुने भएकाले कोरोनाविरूद्धको खोप लगाउन बाँकी रहेकालाई लगाउने र नयाँ भेरियन्टप्रतिको सर्वसाधारणमा सतर्कतासँगै सचेतताको अभिवृद्धि गर्नु उत्तिकै आवश्यकता देखिएको छ ।

- ADVERTISEMENT -